काठमाडौँ: नेपाल सरकारद्धारा जारी गरेको “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५” अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उदेश्यले एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत “एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको छ ।
“एनएमबि सहुलियतपूर्ण कर्जा” लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरुमा लक्षित छ , जस अन्तर्गत सात प्रकारका कर्जाहरु विना धितो प्रदान गरिने बैंकले जनाएको छ । साथै उक्त कर्जाहरु सहुलियतपूर्ण ब्याजदरमा बैंकले उपलब्ध गराउने छ ।
विपन्न वर्गका जनताको उद्यमशिलता तथा व्यवसाय विस्तार गरी दिगो आर्थिक बृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने- “एनएमबि बैंकले दिगो आर्थिक बृद्धि तथा मुल्य मान्यतामा आधारित बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोले, हरेक सेवा सुबिधा उक्त उद्देश्य लक्षित हुने हाम्रो प्रयास रहेको छ । यसले अन्य बैंक भन्दा एनएमबि बैंकलाई फरक रुपमा प्रस्तुत गरेको छ ।”
बैंकले ७ प्रतिशत व्याजदरमा सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने छ। बैंकले ८ वटा व्यासायलाई लक्षित गर्दै बिना धितो व्यावसायिक योजनाका आधारमा अधिकतम १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ।
व्याज अनुदान अन्तर्गतका एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, एनएमबि शिक्षित युवा स्वरोजगार कर्जा, एनएमबि वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, एनएमबि दलित समुदाय व्यवसाय विकास कर्जा, एनएमबि उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, एनएमबि भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा र एनएमबि महिला उद्यमशीलता कर्जा रहेका छन् ।
उपरोक्त कर्जाका अतिरिक्त कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी एनएमबि बैंकले बैंकिङ्ग क्षेत्रमा नौलो “अग्रणी महिला कृषि कर्जा” पनि संचालनमा ल्याएको छ । जस अन्तर्गत उत्पादन लागतमा आधारित रहि रु.१५ लाखसम्मको कर्जा महिला कृषकहरुले प्राप्त गर्न सक्नेछन ।
यसैगरी बैंकले निक्षेपकर्ताहरुलाई थप सुबिधा प्रदान गर्ने उद्देश्यले “एनएमबि सहारा बचत खाता” अन्तर्गत विभिन्न १८ वटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम रु.१० लाखसम्मकोे विमा सुविधा उपलब्ध गराउने छ । बैंकले यस निक्षेप योजनामा सर्वाधिक ७ प्रतिशत ब्याज उपलब्ध गराउने अंकले जनाएको छ ।
