काठमाडौँ: पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर डा तीलक रावलसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आयोगले आज नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध रु दुई करोड ७३ लाख बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो । अख्तियारले तीनजनाविरुद्ध जनही रु ९१ लाख नौ हजार बिगो कायम गरेको छ । अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ, “नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको पाँच करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानूनीरुपमा नोट छपाइ गरेको छ ।”

आयोगको अनुसन्धानबाट बोलपत्रपूर्व नै राष्ट्र बैंकले नोट प्रिन्टिङका लागि अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, सञ्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुनेलगायतका गलत गतिविधि भएको पाएको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रमा छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउनका लागि सञ्चारकर्मी समेतलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाउने, नोट छपाइका कार्यादेश दिएकालाई नै बोलपत्रपूर्व नै नोटको डिजाइन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिसन उल्लेख नगर्ने जस्ता गलत गतिविधि भएको उल्लेख छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version