काठमाडौँ: खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील पत्रकारहरुको छाता संगठनको हैसियतमा विधिवत रुपमा ‘वास मिडिया फोरम नेपाल’ को सोमबार एक कार्यक्रमबीच सार्वजनिकररण गरिएको छ।
खानेपानी, सरसफाइ, र स्वच्छता र यस क्षेत्रका सम्पूर्ण समस्याको पहिचान र मिडिया पैरवी गर्ने उद्धेश्यका साथ गठित यस फोरमको खानेपानी मन्त्री विना मगरले एक कार्यक्रमकाबीच उद्धघाटन गरेकी हुन्।
फोरमको सार्वजनिकीकरण कार्यक्रमसंगै ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य ६’ माथि आधारित रहेर यसले राजधानीमा आज आफ्नो पहिलो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
फोरमको सार्वजनिकीकरण गर्दै खानेपानी मन्त्री मगरले सम्पन्न हुन मुखैमा आइसकेको मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या तत्काल समाधान गर्न सरकार संयमित ढंगले अघि बढेको बताएकी छिन्।
उनले भनिन्, ” हामी सबैको सफलताको मुखैमा आईपुगीसकेको मेलम्ची आयोजनामा देखिएको हालको समस्या समाधानका लागि कानुनका ज्ञाता तथा विज्ञहरुसँग परामर्श गरिरहेका छौँ।”

इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’बाटै आयोजनाको काम सम्पन्न गर्न तयार रहेको तर यसका लागि कम्पनीले विस्वासको वातावरण सिर्जना गर्नु पर्ने उनले बताइन्।
” सिएमसी कम्पनीको अविश्वासका कारण आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन सकेको छैन त्यसैले हामी उनीहरुबाट थप विश्वासको वातारण खोजिरहेका छौँ,” उनले भनिन्।
‘मुखैमा आइसकेको आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार लालाहित छ’ उनले भनिन् ।
मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाबाट नाजायज फाइदा लिन कसैलाई नदिइने दृढता समेत व्यक्त गरिन्। इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ले थाप का सम्पन्न गर्न उनीहरुले माग गरेको बजेट अपुग भएको भन्दै आयोजनाको काम पूरा नगर्दै कम्पनीका मुख्य व्यक्तिहरुले नेपाल छोडेर जान लागेको पत्तो लागेपछि हाल मन्त्रलायले यस परियोजनाको काम अघि बधाउन सकेको छैन।
यस्तै, कार्यक्रममा बोल्दै सरोकारवाला निकाएका प्रतिनिधिहरुले पनि फोरम गठन हुनु सबैका लागि सुखद भएको र आगामी दिनमा खानेपानी र सरसफाइका बिषयले अब नेपाली सञ्चारमाध्यमका मूलधारका मिडियाले पनि यस क्षेत्रका विषयले प्राथमिकता पाउनेमा आशा ब्यक्त गरे।
सरसफाइ क्षेत्रका विज्ञ नमस्तेलाल श्रेष्ठले वास मिडिया फोरम गठन भएकोमा खुसी व्यक्त गर्दै फोरमले अरुको सहयोगमा भन्दा पनि स्वतः स्फूर्त रुपमा आफैले कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव दिए।
‘फोरमको औचित्य र भावी कार्यदिशा’ शीर्षकमा वास मिडिया फोरमले गरेको प्रस्तुतीकरण पछिको खुला सत्रमा भाग लिदै एसएनभी नेपाली बिसीसी एडभाइजर हरिशोभा गुरुङले सञ्चारमाध्यम मार्फत वासको पहुँच नपुगेको समुदायलाई कसरी पु¥याउने भन्नेमा मन्थन गर्नुपर्ने बताइन्।
पूर्व विज्ञान प्रविधि तथा वातावरणमन्त्री गणेश शाहले वास मिडिया फोरम पहिले नै गठन हुनुपर्ने र ढिलै भएपनि गठन भएकोमा शुभकामना व्यक्त गर्दै भावी दिनमा वास क्षेत्रमा कार्यरत संघसंस्थासँग सहकार्य गरेर काम गर्न सक्नुपर्ने बताए।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रमाकान्त दुवाडीले मिडिया, सरकार र विकास साझेदार एवं दातृ निकायको हातेमालोबाट राष्ट्रले सरसफाइमा राखेको लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गरे।
यस्तै खानेपानी मन्त्रालयका सहसचिव मनोज घिमिरेले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा मिडियाले खेल्दै आएको भूमिकाको प्रसंसा गर्दै भावी दिनमा सँगसँगै लैजान सकेमा सरकारले राखेको दिगो विकास ६ को लक्ष्य हासिल गर्न सहायक सिद्ध हुने धारणा राखे।
वाटर एड नेपालका वरिष्ठ नीति तथा पैरवी अधिकृत गोबिन्द श्रेष्ठले दिगो विकास लक्ष्य ६ ले राखेका लक्ष्यहरु हासिल गर्न आर्थिक चुनौती रहेको बताए। उनले कार्यक्रम र बजेटकोबीचमा ठूलो खाडल रहेको भन्दै यदि सरकारको खानेपानी, सरसफाइ र स्वच्छतामा राखेको दिगो विकास लक्ष्य समयमा हासिल गर्नु छ भने बजेट बृद्धि गर्नुपर्ने र स्रोतको खोजी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा खानेपानी मन्त्री बीना मगरले वास मिडिया फोरमको विधिवत दर्ता भएको खबरले आफू हर्षित भएको र आफू भावी दिनमा सहकार्य गर्न तयार रहेको बताइन्। ‘म वास मिडिया फोरमलाई शुभकामना दिन चाहन्छु कि मन्त्रालय फोरमसँग पूर्ण रुपमा सहकार्य गर्न तयार छु । मैले मन्त्रालयको एउटा अभिन्न अंगको रुपमा लिएको छु,’ उनले भनिन् ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी मन्त्रालयले बनाईने नीति नियम, निर्देशिका, कार्यविधि आदिमा फेडवासनको तर्फबाट रचनात्मक सुझाव प्रदान गरेपनि खासै महत्व नदिएको बताए।
” संविधानको धारा ३५ मा जनताका लागि खानेपानी र सरसफाई मौलिक हकको रुपमा व्यवस्था भएपनि, वास्तविक रुपमा विकट बस्ति र गाउँमा अझै जनताका धारामा स्वच्छ खानेपानी पुग्न सकेको छैन,” अर्यालले भने।
कार्यक्रममा खानपानी तथा ढल व्यवस्थापन विभागको तर्फबाट सिनियर डिभिज्नल इञ्जिनियर पूर्ण प्रसाद उपाध्यायले ‘संघीयतामा खानेपानी र सरसफाइ तथा दिगो विकास लक्ष्य’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए ने वास मिडिया फोरमको तर्फबाट उपाध्यक्ष नवीन पल्लवले ‘वास मिडिया फोरमको औचित्य र भावी कार्यदिशा’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रमको समापन गर्दै फोरमकी अध्यक्ष मनिषाकुमारी अवस्थीले वास मिडिया फोरम वाससँग सरोकार राख्ने सरकारी, गैरसरकारी तथा नीजिक्षेत्रसँग सहकार्य गर्न इच्छुक रहेको बताइन्।
उनले खानेपानी तथा सरसफाइ सम्बन्धी राष्ट्रले लिएको लक्ष्य पूरा गर्न वास मिडिया फोरमले जनता र सरकारकोबीचको पुलको रुपमा रहेर भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।