काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको औपचारिक निर्माण कार्य अघि बढाउन अहिले बिहान ११ बजे पुनर्निर्माणको शिलान्यास गर्दैछन्।
भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो ।
ओलीले आफ्नो आघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेका थिए जसका लागि उनले जन श्रमदानबाट धरहराको पुनर्निर्माण गर्ने घोषणा गरेका थिए। त्यसको झण्डै चार वर्षपछि प्रधानमन्त्री ओलीले नै पुनर्निर्माणको शिलान्यास गर्न लागेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी-रमन जेभीलाई दिएको छ । भूकम्पले भत्किएको धरहरालाई भने सिसाभित्र राखेर संरक्षण गरिने प्राधिकरणले जनाएको छ । त्यसकै छेउँमा पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।
