काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताएका छन्।

तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उनले देश समृद्धिको बाटोमा अगाडि बढिसकेकाले कसैले चाहेर पनि पछाडि नधकेलिने बताए ।

जनतामा सुशासन र विकासको तीव्र आकाङ्क्षा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन सबै मिलेर लाग्नुपर्छ ।”

नेपालका विभिन्न जातजातिले मनाउने चाडपर्वमा सार्वजनिक बिदा दिने विषयमा आफूले विधिवत्रुपमा निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताए । गुरुङ समुदायका प्रतिनिधिले ‘तमु ल्होसारको बिदा कटौतीे’ भएको सम्बन्धी राखेको जिज्ञासामा उनले सरकार सबै जातजातिको जायज माग पूरा गर्न तयार रहेको बताए । उनले भने, “नेपाल र नेपालीकै पक्षमा सरकारले निर्णय गर्छ ।”

लोकतन्त्र सबै जातजाति र भाषाभाषीका लागि हो भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रिक गणतन्त्र सबैले मिलेर ल्याएको स्मरण गरे । भौगोलिकरुपमा सानो भए पनि सांस्कृतिकरुपमा विविधता हुनु देशका लागि सम्भावना भएको उल्लेख गर्दै उनले भने, “सबै जातजाति, भाषाभाषी मिलेर लाग्दा नै समृद्धि र एकता सम्भव छ ।”

तमु महिला परिषद्का प्रतिनिधि शोभा गुरुङले देश र विदेशमा रहेका गुरुङ समुदायले आआफ्ना ठाउँमा जम्मा भएर नयाँ वर्षको स्वागत गरिरहेको बताउनुभयो । कार्यक्रममा समाजले विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने गुरुङ समुदायका व्यक्तिलाई सम्मानसमेत गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version