काठमाडौँ : नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालालाई विभिन्न पार्टीका नेताले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘त्रिचालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का अवसरमा बिपी चिन्तन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनिहरुले मुलकको राष्ट्रियता, सार्वभौमसत्ता र प्रजातन्त्रप्रति कुनै सम्झौता नगर्ने नेता बिपी युगपुरुष व्यक्तित्व भएकामा जोड दिए ।

कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले दक्षिण एशियाको तत्कालीन सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा मुलुकको सार्वभौमसत्ता रक्षा गर्न बिपी र नेता गणेशमान सिंह ज्यानको जोखिम मोलेर स्वदेश फर्कनुभएको बताए ।

बिपी मेलमिलापको नीति लिएर स्वदेश फर्कदाका घटनाको स्मरण गर्दै उनका सुपुत्रसमेत रहेका महामन्त्री डा कोइरालाले बिपीले जीवनको उत्तराद्र्धमा काङ्ग्रेसका तत्कालीन शीर्ष नेतालाई एक भएर अघि बढेमा १० वर्षमा प्रजातन्त्र पुनःस्थापना गर्न सकिन्छ भनेर सुझाव दिएको जानकारी दिए ।

कार्यक्रममा नेकपा (माले) का महासचिव सिपी मैनालीले गतिशील व्यक्तित्व बिपीले आन्दोलन गर्दा कम्युनिष्टको साथ लिनु नचाहे पनि कम्युनिष्टको विरोध पनि नगरेको स्मरण गरे ।

साथै उनले बिपीले निर्वासनमा बस्दा भारतले भनेको मान्नुपर्ने देखेपछि राष्ट्रियता जोगाउन समर्पण नभई सहमतिका लागि स्वदेश फर्कनुभएको धारणा व्यक्त गरे ।

कार्यक्रममा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का संयोजक डा प्रकाशचन्द्र लोहनीले बिपी फरक विचार र दृष्टिकोण राख्ने सबैका नेता भएको उल्लेख गर्दै उहाँ कुनै एक पार्टीको नेता मात्र नभई सम्पूर्ण नेपालीको सम्पत्ति भएको बताए ।

बिपी आफ्ना प्रतिष्पर्धी र विरोधीलाई पनि सम्मान गर्ने नेता भएको स्मरण गर्दै डा लोहनीले स्वाभिमानी र दूरदर्शी सोच भएका नेता बिपी नेपाल र नेपाली रहेसम्म महानायकका रुपमा रहिरहने धारणा व्यक्त गरे ।

नेपाल विद्यार्थी सङ्घका संस्थापक अध्यक्ष विपीन कोइरालाले बिपीको मेलमिलाप नीतिलाई काङ्ग्रेसले अपव्याख्या गरी गल्ती गरेको बताउँदै सच्चिएर बिपीको बाटोमा हिँड्नुपर्ने सुझाव दिए । बिपीको मेलमिलाप नीतिलाई सबैले आत्मसात् गर्न सकेमात्र मुलुकका समस्या समाधान हुने उनको धारणा थियो ।

प्रतिष्ठानका अध्यक्ष राजकृष्ण आमात्यको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण कोइरालाले बिपीको राजनीतिक दृष्टिकोण र प्रजातन्त्रका लागि गरेका सङ्घर्षका बारेमा प्रस्तुतिसहित जानकारी गराएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version