काठमाडौँ: यही बिहीबारदेखि म्याग्दीमा आयोजनास्थल रहेको घलेम्दी हाइड्रोपावरले साधारण शेयर बिक्री गरेको छ ।

सो कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री शुरु गरेको छ । सो कम्पनीको वित्तीय अवस्था कमजोर रहेको भन्दै इक्रा नेपालले ग्रेड पाँच दिएको छ । त्यो भनेको कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ ।

सो कम्पनीको शेयर खरीद गर्नेले चालू आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चार रुपैयाँ ७७ पैसा मात्रै रहेको छ । यस्तै आगामी आवमा सो कम्पनीको शेयर खरीद गर्नेले प्रतिशेयर दुई रुपैयाँ ३२ पैसा मात्रै आम्दानी गर्नेछन् । सो आयोजनाको प्रति मेगावाट लागत रु २३ करोड छ ।

कम्पनीले पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यो त एउटा उदाहरण मात्रै हो । चालू आवमा नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनमुति दिएका अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । वित्तीय रुपमा कमजोर रहेका कम्पनीको शेयर खरीद गर्दा नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्तालाई भने त्यसले कुनै फाइदा दिँदैन ।

गत भदौमा कालिका पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर बिक्री ग¥यो । सो कम्पनीको शेयर धितोपत्र बजारमा हाल प्रतिकित्ता रु १०० मा खरीद बिक्री भइरहेको छ । सो कम्पनीको वित्तीय अवस्था हेरेको इक्रा नेपालले वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार दिएको थियो । सो कम्पनीको शेयरमा लगानीकर्ता ओइरिए र लगानी गरे तर दोस्रो बजारमा शेयरको अवस्था दुरुहपूर्ण रहेको छ ।

यस्तै इस्र्टन हाइड्रोपावर कम्पनीले पनि ग्रेड पाँच पाएको छ । सो कम्पनीले पनि निकट भविष्यमा नै साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । यस्तै केही समय पहिले दोलखा र रामेछापवासीलाई साधारण शेयर बिक्री गरेको हिमालयन ऊर्जा विकास कम्पनीको पनि इक्रा नेपालले रेटिङ ग¥यो । सो कम्पनीले वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार प्रदान ग¥यो । सो कम्पनीले आयोजना प्रभावितलाई नौ लाख ९० हजार कित्ता साधारण शेयर बिक्री ग¥यो ।

आयोजना प्रभावितले शेयर आवेदनमा उल्लेख्य सहभागिता पनि जनाए । सो कम्पनीलाई धितोपत्र बोर्डले गत असोज २ गते साधारण शेयर बिक्रीको अनुमति दिएको थियो । यस्तै इलाममा आयोजनास्थल रहेको जोशी हाइड्रोपावरले पनि बोर्डबाट साधारण शेयर बिक्रीको अनुमति पायो । स्थानीय आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा उल्लेख्य सहभागिता नपाएको सो कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्दा भने राम्रै सहभागिता पायो । कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता साधारण शेयर बिक्री गरेको थियो । सो कम्पनीको पनि वित्तीय अवस्था खराब रहेको भन्दै ग्रेड पाँच पाएको छ ।

बोर्डले चालू आवको हालसम्म विभिन्न नौ जलविद्युत् कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा गत मङ्सिर २७ गते साधारण शेयर बिक्रीको अनुमति पाएको युनिभर्सल पावर कम्पनीले ९६ लाख ६१ हजार ६१० कित्ता शेयर बिक्रीको तयारी गरेको छ ।

यस्तै शिवश्री हाइड्रोपावरले पनि आयोजना प्रभावितलाई पहिलो चरणमा साधारण शेयर बिक्री गर्दैछ । सो कम्पनीले आयोजना प्रभावितलाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता शेयर बिक्री गर्नेछ । यस्तै हालैमात्र शेयर बिक्रीको अनुमति पाएको पाँचथर पावर कम्पनीले रु १९ करोड २५ लाख बराबरको १९ लाख २५ हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ ।

यस्तै यही पुस १७ गते साधारण शेयर बिक्रीको अनुमति पाएका ग्रीनलाइफ हाइड्रोपावरले रु १८ करोड बराबरको १८ लाख कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । यस्तै बोर्डमा अनुमतिको प्रतीक्षामा १२ जलविद्युत् कम्पनी रहेका छन् । ती कम्पनीले पनि ढिलो चाँडो साधारण शेयर बिक्रीको अनुमति पाउने छन् । त्यसमा रसुवागढी, साञ्जेन जलविद्युत् कम्पनीबाहेक अरु सबै कम्पनी निजी क्षेत्रले लगानी गरेका हुन् ।

इक्रा नेपाल र केयर नेपालको रेटिङलाई मान्ने हो भने अनुमति पाएका र अनुमतिको प्रतीक्षामा रहेका अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था सन्तोषजनक देखिँदैन । साधारण शेयरमा लगानी गर्नेले नाफा कमाउनसमेत लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

शेयर विश्लेषक निरव पुडासैनीका अनुसार धितोपत्र बजारमा शेयरको मूल्य बढ्ने अवस्थामा लगानीकर्ताले नाफा पाउन सक्ने अवस्था रहन्छ तर तत्कालका लागि पनि वित्तीय अवस्था खराब रहेका कम्पनीबाट शेयर लगानीकर्ताले भने प्रतिफल पाइहाल्ने अवस्था भने रहँदैन । बजार पूँजीकरण वृद्धि भएको अवस्थामा शेयरलगानीकर्तालाई केही नाफा भने हुनसक्ने टिप्पणी गर्दै उहाँले जलविद्युत् कम्पनीको हकमा भने प्रसारण लाइन र अन्य भौतिक पूर्वाधार छन् कि छैनन् भन्ने विषयले पनि अर्थ राख्ने बताउनुभयो ।

यस्तै शेयर बजारका अर्का जानकार प्रकाश तिवारी पनि कमजोर वित्तीय अवस्था भएका जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्दा लगानीकर्तालाई तत्काल कुनै फाइदा नहुने बताउनुहुन्छ ।

साधारण शेयर बिक्री गर्ने तयारीमा रहेका र चालू आवमा शेयर बिक्री गरेका कम्पनीमध्ये करीब ६६ प्रतिशत हिस्सा जलविद्युत् कम्पनीको नै छ । ती कम्पनीको वित्तीय अवस्था कमजोर त छँदैछ । त्यसमाथि पनि केही आयोजनाले तोकिएअनुसारको विद्युत् उत्पादनसमेत गर्न सकेका छैनन् । आयोजनाको लागतसमेत अस्वभाविक रुपमा बढी रहेको छ । यस्तो अवस्थामा लगानीकर्तालाई सहजरुपमा नाफा कमाउने अवस्था भने कमजोर नै हुने तिवारीको टिप्पणी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version