काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव चन्द्रमान श्रेष्ठ विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।
श्रेष्ठले सार्वजनिक पदमा रहँदा अवैध सम्पत्ती आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले आज भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको मुद्दा दर्ता गरेको हो ।
हाल वातावरण मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत श्रेष्ठले पदमा रहँदा १ करोड ३४ लाख ५ सय ३६ रुपैया ७६ पैसा अवैध आर्जन गरेको अख्तियारको ठहर छ।
यातायात व्यवस्था विभागमा पूर्वमहानिर्देशक समेत रहेका श्रेष्ठ विरुद्ध १ करोड ३४ लाख रुपैयाँ भ्रष्टाचारको आरोप छ। विभागको महानिर्देशक हुँदा श्रेष्ठले गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरेको दाबी अख्तियारको छ।
श्रेष्ठले २०३८ सालबाट सार्वजनिक पद धारण गरेका थिए। उनले तलबलगायत अन्य स्रोतबाट २ करोड १० लाख ७७ हजार आर्जन गरेका छन्। यो अवधिमा श्रेष्ठ र परिवारका अन्य सदस्यको नाममा आम्दानी भन्दा बढी चलअचल सम्पत्ती सिर्जना भएको र विभिन्न क्षेत्रमा खर्च गरेको अनुसन्धानका क्रममा पाइएको अख्तियारले खुलाएको छ।
श्रेष्ठ उपर १ करोड ३४ लाख रुपैयाँ विगो कायम गरि गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफतको मागदावी लिई आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
यसका अतिरिक्त गैरकानुनीले रुपमा आर्जन गरेको सम्पत्ती आफ्नी श्रीमती जमुना तण्डुकार र नवलपरासीको स्वाठी बस्ने भगवती योगीको नाममा राखेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। अख्तियारले श्रेष्ठकी श्रीमती जमुना र योगी विरुद्ध मुद्दा दायर गर्दै उनीहरुका नाममा रहेका सम्पत्ती जफत गर्न माग गरेको छ।
अख्तियारले अकुत सम्पत्ती आर्जन गरेको भन्दै श्रेष्ठका नाममा यसअघि नै सार्वजनिक सूचना प्रकाशन गरेको थियो। अख्तियारले यो सूचना प्रकाशन गरेसँगै उनको बढुवा रोकिएको छ ।
