बाजुरा : बुढीनन्दा–९ अंगाउपानीको छाउगोठ स्थानीयले भत्काएका छन्। मंगलबार राति त्यही छाउगोठमा निसासिएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोराको मृत्यु भएको थियो।

‘मृतकको परिवारकै सदस्य रहेका वडा अध्यक्ष खड्क बोहोरा र गाँउका महिलाहरूले शुक्रबार गोठ भत्काए’, स्थानीय रिउली बोहराले भनिन्, ‘त्यो गोठ १० परिवारका महिलाले प्रयोग गर्थे।’

गाँउका अरु तीन गोठ भने अहिले पनि जस्ताको तस्तै छन्। घरपरिवार र समाजको दबाबले गोठमै बस्नुपर्ने रिउलीले बताइन्। ‘मृतक अम्बा बोहोराका जेठा ससुरा झाँक्री भएकाले घरमा बस्न पाइँदैन’, उनले भनिन्, ‘अहिले गोठ त भत्काए, थाहा छैन यी मान्छेका मन कहिले भत्किने हुन् ? ’

देउता रिसाउँछन् भनेर पुरुषहरूले नै महिलालाई गोठमा जान बाध्य पार्ने उनले सुनाइन्। रिउलीले अबदेखि आफू भने जसले जे भनेपनि गोठमा नजाने र घरमै बस्ने बताइन्। ‘बाँकी गोठ पनि भत्काउनुपर्छ। अंगाउपानीका धेरै महिलाको दुःख परिवारका सदस्यले बुझ्दैनन्’, उनले भनिन्।
स्थानीय सञ्जु बोहोराले गोठमै मृत्यु भइसक्दा पनि समाजमा चेतना नआएको स्वीकारिन्। भनिन्, ‘बाहिर सबैले कुरा ठिक्क गर्छन्, तर हरेकको घरमा छाउपडी कुप्रथा कायमै छ।’

बुढीनन्दा–९ लाई तीन वर्ष पहिले निकै तामझामसहित छाउपडी गोठमुक्त घोषणा गरिएको थियो। तर, अझै महिलाहरू गोठमा बस्दै आएको स्थानीय शिक्षक पुष्कर नेपालीले बताए। ‘गाँउका सबै अभियान कागजमा सीमित छन्, जिल्ला केन्द्रमा छाउगोठ मुक्त भनेर रिपोर्ट गएका छन्, तर गाँउमा यसरी गोठमै मृत्युवरण गर्नुपरेको छ,’ नेपालीले भने। यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version