काठमाडौँ: पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे ४ करोड धरौटी बुझाएर छुटेका छन्।
सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे ४ धरौटी बुझाएर रिहा भएका हुन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीशहरू चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले मागेको उक्त रकम धरौटी बुझाएर पाण्डे तारेखमा छुटेको रजिष्ट्रार भिमकुमार श्रेष्ठले बताए।
‘उहाँले ग्लोबल बैंकबाट ४ करोडको बैंक ग्यारेण्टी ल्याउनु भयो र तारेख लिएर जानुभयो,’ उनले भने।
पाण्डे आजै विशेष अदालतमा हाजिर हुन आएका थिए। उनको थुनछेक बयान र थुनछेक बहसपछि विशेषले ४ करोड धरौटी मागेको हो।
अख्तियारले पाण्डेविरूद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ मागदाबी गरेको छ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २१ गते पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डे, आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र तीन जना इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
