काठमाडौँ: चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड रुपैयाँ घाटामा गएको छ। मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति घाटामा देखिएको हो।

यस्तो घाटा बढ्दै गएको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय विवरणअनुसार साउनदेखि कात्तिकसम्म शोधनान्तर घाटा ५७ अर्ब थियो। एक महिनाकै अवधिमा अर्थात मंसिरसम्म आउँदा २८ अर्ब घाटा थपिएको छ।

अघिल्लो वर्षको यसै अवधिमा यस्तो घाटा ५ अर्ब ४८ करोड थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनामा ५ करोड ३९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड १ लाखले घाटामा छ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ६ अर्ब ७८ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब १२ करोड रहेको थियो। मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी बढ्न नसक्नु र व्यापार घाटा चुलिँदै गर्दा समग्र शोधनान्तर स्थितिमा असर परेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version