काठमाडौं : सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेकोमा आपत्ति जनाउँदै डा. केसीले अनशन जारी रहने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन्।

नेपाली नागरिकमाथि सुनियोजित धोका भएको डा. केसीको भनाइ छ। आफैले गरेको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट प्रधानमन्त्री ओली च्युत भएको उनले बताए। ‘आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ,’ अनशनस्थलबाट डा. केसीले जारी गरेको विज्ञप्तिमा छ।

पन्ध्रौं सत्याग्रहका क्रममा सरकारले डा. केसीसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार विधेयक संशोधन गरी पारित गर्न माग गर्दै उनी सोह्रौं बसेका हुन्। उनी १७ दिन (पुस २५)देखि शिक्षण अस्पतालमा अनशनरत छन्।

विधेयक पारित गर्ने बेला सत्तारुढ दलले जालझेल र जर्बजस्ती गरेको डा. केसीले दाबी गरेका छन्। प्रधानमन्त्री तथा संसदीय दलको नेताले गराएको सम्झौता प्रतिकूल विधेयक पारित गरेको डा. केसीको जिकिर छ। ‘सरकार तीन करोड नागरिकको गुणस्तरीय र सर्वसुलभ सेवा पाउने अधिकारभन्दा बढी महत्व पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजहरूको स्वार्थलाई दिएको पुष्टि भएको छ,’ विज्ञप्तिमा छ।

विधेयक पारित हुने बेला सत्याग्रहको पक्षमा प्रदर्शन गरेका नागरिकलाई धरपकड र गिरफ्तार गरिएकोमा सकुशल रिहाइको माग गर्दै डा. केसीले आफ्नो अभियानमा सहभागी हुन खुला अपिल गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version