ललितपुर: नेपाल सरकारले ललितपुरको खोकनामा एकैसाथ अघि बढाएका पाँच विकास निर्माणका योजनाले पहिचान गुम्ने भन्दै स्थानीय निकायका जनप्रतिनिधिलगायत जनता रुष्ट भएका छन् ।

खोकनाको नेवारी बस्ती, त्यहाँको धर्मसांस्कृति र सम्पदा मासिने डरमा सरकारसँग ललितपुर महानगरपालिका–२१ का जनप्रतिनिधिलगायत स्थानीय जनता रुष्ट भएका हुन् । खोकनामा एकैसाथ अघि बढाइएका निर्माणका योजनामा दु्रत मार्ग, वाग्मती करिडोर, बाहिरी चक्रपथ, १३२ केवीको विद्युत् प्रसारणलाइन र स्माट सिटी रहेका छन् ।

वडाध्यक्ष रवीन्द्र महर्जनले परियोजनाका कारण करीब पाँच हजार ५०० देखि छ हजार जनसङ्ख्या भएको सो क्षेत्रको पहिचान गुम्ने समस्या देखिएको जानकारी दिनुभयो । “खोकनाको धर्म, कला, संस्कृति मौलिकता र पहिचान मासेर विकास निर्माण गर्नुको कुनै औचित्य रहँदैन”, महर्जनले भन्नुभयो, “स्थानीय तहले राज्य व्यवस्थासँग गरेको सहमतिअनुसार जिरो किलोमिटरको कार्ययोजनालाई फर्सिडोलमा सार्ने सहमति भएको थियो, तर सरकारले यो प्रस्ताव मानेको छैन ।”

खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डङ्गोलले खोकना विश्व सम्पदा क्षेत्र घोषणाका लागि चुनिएको, तोरी उत्पादन हुने प्रसिद्ध स्थानको रुपमा परिचित र नेपालमा पहिलो पटक बिजुली बल्न सफल क्षेत्र रहेको जानकारी दिनुभयो ।

विकास समितिकी सभापति कल्याणी खड्काले विकास निर्माणको कार्यमा स्थानीय जनता र सरकार दुवै मिलेर सकारात्मक रुपमा अघि बढ्नुपर्ने बताउनुभयो । “विकासका निर्माणको कार्यमा स्थानीय जनतासँग सरकारले सकारात्मक सहयोगको अपेक्षाा गरेको छ”, उहाँले भन्नुभयो, “यहाँको मौलिकता र पहिचान लोप हुने गरी काम गर्दैनौ ।”

त्यसैगरी विकास समितिका सदस्य रामबहादुर विष्टले विकास निर्माणको योजना अघि बढाउनु अघि विभिन्न राजनीतिक दलबीच नीतिगत निर्णय हुनुपर्नेमा कमजोरी भएको बताउनुभयो ।

सरकारले विसं २०६८ मा खोकनामा सो परियोजना अघि बढाएको हो । खोकनामा एकै साथ परियोजना अघि बढेपछि उक्त ठाउँका जनताले जग्गाको सही रुपमा मुआब्जा, जग्गा बिक्री वितरण गर्ने अधिकार, जग्गा कित्ताकाट गर्ने अधिकार, भूकम्प पीडितले पाउने दोस्रो तथा तेस्रो किस्ताको रकम र भूकम्प प्रभावित बाहेक अन्यले व्यक्तिगत प्रयोजनका लागि भवन निर्माण गर्न नपाएको स्थानीयवासीको गुनासो छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version