काठमाडौं: विहिबार पुनः डाकिएको संघीय संसदको बैठक अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।
बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए। उनको लगतै सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए।
सांसद रिजालले संसदबाट चिकित्सा शिक्षा गलत प्रक्रियाले पारित भएको भन्दै त्यसलाई परिमार्जन गरेर डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताए ।
‘गोविन्द केसीको ज्यान रक्षा गर्नुपर्छ, चिकित्सा जसरी यहाँबाट पारित भयो, त्यो गलत भयो, अब त्यसलाई परिमार्जन गरेर गोविन्द केसीको जीवन रक्षा हुने, चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं । राष्ट्रिय सभाले त्यो बाटोले लियोस भन्ने सत्ताको आग्रह रहनुपर्छ’ उनले भने ।
उनले अब संवादबाट यो काम गर्न सकिने भन्दै त्यसको लागि वातावरण बनाउन सभामुखलाई आग्रह गरे । अब संवादको बाटोमा अगाडि बढौं, चिकित्सा शिक्षा परिमार्जन गर्ने बाटोमा सरकार अघि बढोस्’ रिजालले भने ।
