बनियानी : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

झापाको भद्रपुर–५ स्थित मेची पुलको आज उद्घाटन गर्दै उनले भने, “सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको छ, मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौँ ।”

रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताए। सरकारले नेपाल र भारतसँगको नजीकको बन्दरगाहबाट पानी जहाज सञ्चालन गर्न लागेको बताउँदै उनले कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए ।

मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको उनले उल्लेख गरे । पुल सञ्चालसँगै भद्रपुर विकासको गतिमा एक कदम अघि बढेको उनले बताए। “अब मेचीपुल सञ्चालन भएपछि यहाँको व्यापार–व्यवसाय बढ्नेछ”, उनले भने, “समृद्धिको मार्गमा भद्रपुर अघि बढ्नेछ ।”

तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विसं २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गरेका थिए । कूल रू ३३ करोडको लागतमा निर्माण भएको पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल निर्माण भएसँगै भारतको बङ्गाल तथा विहार राज्यसँग सडकमार्फत सोझो सम्पर्क स्थापित भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version