काठमाडौं: एक खेल पनि नजिती दुई पटकको धनगढी क्रिकेट प्रिमियर लिग (डीपीएल) विजेता धनगढी स्टार्स यस पटकको लिगबाट बाहिरिएको छ।
फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेल पनि धनगढीले रुपन्देही च्यालेन्जर्ससँग ३९ रनले पराजित भएपछी प्रतियोगिताका सबै तीन खेल हारमा टुंग्याएको हो । धनगढीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
मैदान ओसिलो भएका कारण सोमबार ढिलो गरी सुरु भएको खेल १५ ओभरमा छोट्याएको थियो । रुपन्देहीले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुदा उसले ६७ रन मात्रै बनाउन सक्यो ।
धनगढीका लागि पवन सर्राफले १५, कप्तान सोमपाल कामीले ११ र सन्दीप रजालीले १० रन बनाए । बलिङतर्फ रुपन्देहीका ललित भण्डारीले तीन विकेट लिए । त्यस्तै, बिक्रम सोबले दुई विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १५ ओभरमा सबै विकेटको क्षतिमा १०६ रन जोड्यो । रुपन्देहीका सुमित महर्जनले ३३, विनोद भण्डारीले २४ र बाबर हायातले १९ रन बनाए ।
बलिङतर्फ धनगढीका सोमपाल कामी, विपिन खत्री र पवन सर्राफल समान २–२ विकेट लिए ।
