काठमाडौँ: ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव परीक्षणका लागि समय लाग्ने भएपछि आजै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सरेको छ।
शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका निमित्त प्रमुख डा. रिजेन श्रेष्ठका अनुसार शवको पहिचान नभएकाले शवको डिएनएका समय लाग्ने भएको हो। पोस्टमार्टम हुन नसकेपछि अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम पनि रोकिएको हो ।
सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको छ। यद्यपी सबै शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने भएकाले आजका लागि निर्धारित कार्यक्रम भोलि बिहान ८ बजेका लागि सारिएको हो।
सातै जनाको शव बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिने र श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्ने कार्यक्रम रहेको छ । श्रद्धाञ्जलिपछि शव आफन्तजनलाई जिम्मा दिइने बताइएको छ ।
