ललितपुर: कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ ।

चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए ।

आकाशेपुल निर्माणको काम अहिले भइरहेको छ भने जेब्राक्रसिङ निर्माण, डिभाइडर राख्नेलगायत काम चाँडै हुने उनले बताए । उनले भने, “सडक सुरक्षाका लागि आवश्यक कुराहरु थपेर यो सडक सुरक्षित बनाउन लागिएको हो ।” उनका अनुसार शहरी सडकमा कम दूरीमा नै ‘जेब्राक्रसिङ’ चाहिने भएकाले यो सडकखण्डमा पनि ठाउँठाउँमा ‘जेब्राक्रसिङ’ निर्माण गर्ने योजना छ । यात्रुलाई बाटो काट्न सजिलो होस् भनेर नै एक–एक किलोमिटरको दूरीमा पर्ने गरेर आकाशेपुलको निर्माण भइरहेको उनले बताए ।

विभिन्न स्थानमा सडकमा रङ लगाउनेलगायत काम गरिने बताइएको छ । चीनमा सडक चिह्नले मात्रै डिभाइडरको काम गर्ने भए पनि नेपालमा त्यसले मात्रै लेन अनुशासन कायम नहुने हुँदा समस्या भएको महाशाखाका प्रमुख श्रेष्ठले बताए । उनले भने, “यहाँ पर्खाल लगाउने वा भौतिक अवरोध चाहिन्छ भन्ने हाम्रो मान्यता छ ।”

चक्रपथकै दोस्रो खण्डका रुपमा कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम भइरहेको पनि उनले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version