काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक भएर उभिनुपर्नेमा जोड दिएका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि आज अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दैै उनले भने, “सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनायाँै, निर्वाचन गरायौँ । सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनुपर्छ ।”

गएको वर्ष सरकार र पार्टीले पूर्वाधार बनाएको उल्लेख गर्दै उहाँले आगामी वर्षको बजेटमार्फत विकास निर्माणले गति लिन्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए । मुलुक नयाँ युगतिर अगाडि बढेको भन्दै अध्यक्ष दाहालले भने, “हिजोका परिवर्तन सामान्य राजनीतिक परिवर्तन हुने गर्थे, यो परिवर्तन एउटा प्रणाली नै परिवर्तन हो । प्रणाली परिवर्तन भएकाले थुप्रै संरचना बनाउनुपर्ने थुप्रै कानून, ऐन बनाउनुपर्ने र अभ्यास गर्नुपर्ने भएकाले हामीले अपेक्षा गरेअनुसारको गतिमा विकास भएन भन्ने जनगुनासो पनि सुनेका छौँ ।”

पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन पनि ढिलो भइरहेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “यो विषय टुङ्ग्याउनेबारे र अन्य राजनीतिक विषयमा पनि घनीभूत छलफलको आवश्यकता छ ।” प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीमा सल्लाह गरेर नै आफू त्यसतर्फ जान लागेको उल्लेख गर्दै उहाँले बढीमा सातदेखि दश दिनभित्र स्वदेश फर्कने जानकारी दिए ।

मुख्यतः आफू सीताको स्वास्थ्य उपचारका लागि गए पनि त्यहाँ रहँदा राजनीतिक भेटघाटको सम्भावना आँैल्याउँदै उनले भने, “परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सरकारका अधिकारीसँग औपचारिक वा अनौपचारिक छलफल हुने सम्भावना बढेको छ ।”

पत्नी सीताको उपचारका लागि परराष्ट्र मन्त्रालय र यहाँस्थित अमेरिकी दूतावास एवम् अमेरिकास्थित नेपाली दूतावासले सहजीकरण गरेको पनि उनले जानकारी दिए । अमेरिकामा बस्ने नेपालीले सीताको स्वास्थ्यमा देखिएको समस्या समाधानका लागि वासिङटन, बाल्टिमोरलगायत स्थानमा नयाँ अनुसन्धान भइरहेको जानकारी गराएका थिए । लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेकी सीताले एक पटक अमेरिकामा उपचार गरे सञ्चो हुन्छ कि भनी मनोविज्ञान रहेका कारण पनि आफूले त्यसतर्फ जाने निर्णय गरेको उनको भनाइ थियो ।

विमानस्थलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपाका नेता तथा कार्यकर्ता अध्यक्ष दाहालको बिदाइका लागि पुगेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version