राँझा: राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्र हुने बताएका छन् ।

नेपालगञ्जमा आज ‘मिडिया सेन्टर’को उद्घाटन गर्दै सदस्य सचिव विष्टले भने–“आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैत भित्रै हुन्छ, हाम्रो दृढसङ्कल्प छ ।” यही चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने आन्तरिक तयारीका साथ कार्यकारी समितिले प्रस्ताव पास गरेको उनले जानकारी दिए । यही चैत ८ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम मिति तय गर्ने विष्टले जानकारी दिए ।

“राष्ट्रिय खेलकूद प्रतियोगिता दुई–दुई वर्षमा गर्न सकिन्छ भन्ने देखाउन पनि चैतभित्र गर्नु जरुरी छ”, उनले भने, “विसं २०७६ मा लैजाने भन्नु बेथिति बसाल्नु हो, हामी खेलकूदमा थिति बसाल्न लागि परेका छौँ ।” आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने कुरामा कसैले कुनै शङ्का नगर्न सदस्य सचिव विष्टले आग्रह गरे । आठौँ राष्ट्रिय खेलकूद २०७५ सालभित्र गर्ने नेपाल सरकार, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्का कर्मचारी र खेलाडीको चाहना रहेको उनले उल्लेख गरे ।

“प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकूद प्रतियोगिता गर्नुपर्छ भन्ने सोचका साथ प्रतियोगिताको मिति घोषणा गरेका हौँ । यसलाई सम्पन्न गर्ने अभिभारा पनि मैरै हौ”, उनले भने । जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामार्फत गरिएको खेलाडी छनोटमा रु २५ करोड खर्च भइसकेको विष्टले जानकारी दिए । “धर्ती खसे, समु्रदै पसे के गर्ने भन्ने मात्रै हो, अरु कुनै समस्या छैन ।” उनले भने । नेपालगञ्जमा चैतमा अत्यधिक गर्मी हुने भएकाले अधिकांश खेल साँझ र बिहानमा खेलाइने तयारी गरिएको उनको भनाइ छ । प्रदेश नं ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले भौतिक पूर्वाधार निर्माणकै कारण प्रतियोगिता रोक्नुपर्ने नभएको बताए । उनका अनुसार ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version