काठमाडौँ: ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपार्इं अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन । तर सक्रिय क्षयरोगको कीटाणुले क्षयरोग लाग्ने गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक चिकित्सक भीमसिंह तिंकरी भन्नछन् , “हामी अधिकांश क्षयरोगको जोखिम समूहमा नै छाँै, रोग छैन भन्ने अवस्था रहँदैन ।”

चिकित्सकका अनुसार निष्क्रिय क्षयरोगको उपचार गरेमा भविष्यमा सक्रिय क्षयरोगमा परिणत हुने सम्भावना न्यून रहन्छ । विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाका बारेमा पत्ता लाग्ने गर्दछ । छातिरोग विशेषज्ञ चिकित्सक सरोज ढुङ्गानाका अनुसार शरीरको तौल घट्ने, सुक्खा खोकी लागिरहने, राति ज्वरो तथा पसिना आउने सक्रिय क्षयरोगका लक्षण हुन् । यस्ता व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वासका माध्यमले कीटाणु हावामा फैलिन सक्छ । हावामा फैलिएका अति सुक्ष्म जीवाणु स्वस्थ्य व्यक्तिमा सर्न पुगी क्षयरोगको सङ्क्रमित हुनसक्छ ।

यसैबीच क्षयरोग बारेमा जनचेतना जगाउन ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । कीटाणु पत्ता लगाएको एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस मनाउन सुरु गरिएको थियो ।

लगानी धेरै उपलब्धि कम

नेपालमा क्षयरोग निवारणका कार्यक्रम शुरु भएको ६० वर्षभन्दा बढी अवधि पूरा भइसक्यो । तर, सरकारले यस क्षेत्रमा खासै उपलब्धि हासिल गर्न सकिरहेको छैन । स्वास्थ्य मन्त्रालयसित क्षयरोग निवारणका लागि सरकारी तथा दातृ निकायबाट कति पैसा खर्च भयो भन्ने कुनै तथ्याङ्क छैन । चालू आवमा मात्र यस कार्यक्रमका लागि रु ७० करोड रकम विनियोजित छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । केन्द्रले गत आवमा नयाँ र पुराना नेपालमा करीब ६० हजार क्षयरोगी रहेका जनाएको छ । कूल मृत्यु हुने रोगमध्ये क्षयरोग साताँै नम्बरमा रहेको छ । दैनिक १८ को मृत्यु यही रोगबाट भइरहेको छ ।

क्षयरोगको उपचार प्रक्रियामा नआएका बिरामी पत्ता लागाई उपचारमा ल्याउनु स्वास्थ्य मन्त्रालयलाई प्रमुख चुनौती बनेको छ । केन्द्रका निर्देशक चिकित्सक तिंकरी भन्नुहुन्छ, “अहिले स्थानीय निकायबाट क्षयरोगका बिरामीको तथ्याङ्क उपलब्ध हुनसकेको छैन । महिलाले स्वास्थ्य परीक्षण कम गराउने र टाढाबाट आउने भएका कारण धेरै महिला क्षयरोग कार्यक्रमको दायरामा समावेश हुनसकेका छैनन् । औषधि वितरणमा समेत समस्या परिरहेको छ ।”

क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेको छ । निःशुल्क औषधिका लागि मात्र वार्षिक रु १५ करोडभन्दा बढी रकम खर्च हुने गर्दछ । क्षयरोग सङ्क्रमितमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेका छन् । नेपालमा क्षयरोगीका बिरामी पत्ता लगाउने दर प्रतिलाख ११२ रहेको छ । केन्द्रका अनुसार गत आव २०७४÷७५ मा एक लाख ९६ हजार ३६३ मा क्षयरोगको आशङ्का गरिएको थियो । तीमध्ये खकार परीक्षण गर्दा ३२ हजार ४७४ मात्र उपचारको पहुँचमा आएका थिए ।

नयाँ क्षयरोगीका १३ हजार बिरामी पत्ता लगाई उपचारको पहुँचमा ल्याउन सकिएको छैन । “क्षयरोगी किन सरकारी उपचार सेवामा आएनन् ? क्षयरोगी पत्ता लगाई उनीहरुलाई सरकारी उपचार सेवामा ल्याउन प्रमुख चुनौती बनिरहेको छ”, निर्देशक चिकित्सक तिंकरी भन्नछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version