भरतपुर: गैँडाकोट नगरपालिका–७ का मनहरि सापकोटाले सङ्घर्षको पापड बेल्नसम्म बेल्नुभएको छ । विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उहाँको मनमा ताजै छ । दिनभरी काम गरेर पनि घरखर्चसम्म चलाउन धौधौ हुने उहाँलाई मकैको व्यापार आम्दानी अपार सिद्ध भएको छ ।

पसिनाको कमाइ खानुको मज्जा उहाँलाई मात्रै थाहा छ । कामको पूजा गर्ने उहाँले पूर्वपश्चिम राजमार्गको गँैडाकोटमा ओहोरदोहोर गर्ने गाडीका यात्रुलाई हरियो मकै बेच्नुहुन्छ । नवलपुरको गैँडाकोट–८ थुम्सी नजिकै हरियो र पोलेर मकैं बेच्ने उहाँजस्ता ८० स्थानीयवासी छन् । एकै जनाले मकै बेचर मासिक रु ३५ हजारदेखि ४० हजारसम्म कमाउने गरेका छन् ।

सापकोटाले विगत पाँच वर्षदेखि सोही ठाउँमा बसेर मकैं बेच्दै आउनुभएको छ । पहिला आफू मात्रै आएर मकै बेच्दै आउनुभएका मनहरिले पछिल्लो समय श्रीमती कमला सापकोटालाई पनिसँगै लिएर मकै बेच्ने थाल्नुभएको छ । दुबै मिलेर व्यापार गर्दा मासिक रु ८० हजारसम्म कमाइ हुनेगरेको उहाँले बताउनुभयो ।

सो क्षेत्रमा उहाँ जस्तै मकै बेच्ने छ दम्पती छन् । उहाँहरुको दैनिकी पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधानमा आउने यात्रुलाई मकै बेच्नु हो । प्लास्टिकमा पोको पारेको मकै बेच्न उनीहरु तछाडमछाड गरेर लाग्ने गरेका छन् ।

करीब पाँच सय मिटर क्षेत्रमा यस्तो दृश्य देख्न सकिन्छ । एक जनाले दिनमा १५० देखी २०० घोगासम्म मकैं बेच्ने गरेको मनहरिले सुनाउनुभयो । पोलेको मकै प्रतिवटा रु २० मा बेच्ने गरिन्छ । दश घोगा मकैलाई रु १०० मा बेच्ने गरिएको छ । उहाँहरुले आफ्नै खेतबारीमा दुई सिजन मकै लगाउने गर्नुभएको छ । आफूसँग मकै नभएको बेलामा अन्यक्षेत्रबाट खरीद गरेर भए पनि मकै बेच्ने गरेको मनहरिले सुनाउनुभयो ।

“बाहिरबाट मकैं खरीद गरेर बेच्दा नाफा कम हुन्छ, तर आफ्नै बारीको मकै ल्याउँदा शतप्रतिशत नै नाफा हुन्छ”, मनहरिले भन्नुभयो, “मकैं बेचेर गरेको आम्दानीले घरपरिवार चलाउन सहज भएको छ ।”

गैँडाकोट–७ कै ईन्द्रराज कँडेलले दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म फाइदा हुने गरेको बताउनुभयो । आफ्नो तीन कठ्ठा जमीनमा लगाएको मकैले सोचेभन्दा धेरै फाइदा दिइएको उहाँले बताउनुभयो । छ वर्षअघि लागेको यस पेसाबाट निकै सन्तुष्टी मिलेको उहाँ बताउनुहुन्छ । “यात्रु आफै गाडी रोकेर मकै किन्छन्”, उहाँले भन्नुभयो’ “यसले गर्दा पनि पेशाप्रति थप चासो थपिएको छ ।”

गैँडाकोट–७ कै देवप्रसाद सापकोटाले पनि श्रीमतीसँगै दैनिक मकै बेच्न राजमार्गमा आउने गर्नुभएको छ । उहाँ दुबै जनाले दिनमा ५०० घोगा मकै बेच्ने गरेको सुनाउनुभयो । दुबै जनाले मकै बेच्दा मासिक रु ८० हजारसम्म फाइदा हुने गरेको उहाँले बताउनुभयो । शुरुवातमा चार÷पाँच जना भएर मकै बेच्ने गरेकामा अहिले दर्जनांै भइसकेका छन् ।

व्यापार राम्रो भएकाले सङ्ख्या बढेको उहाँले बताउनुभयो । सङ्ख्या बढे पनि व्यापारमा कुनै कमी नआएको सापकोटाले बताउनुभयो । नगरपालिकाले राजमार्गमा बसेर मकै बेच्दा दुर्घटना हुनसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । नगरपालिकाले मकै बेच्ने ठाउँको सरसफाइमा ध्यान दिन र तछाडमछाड नगरी व्यवस्थित रुपमा व्यापार गर्न आग्रह गरको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो’, “आफ्नै ठाउँमा आत्मनिर्भर बन्नेगरी व्यापार गर्नु राम्रो हो, तर व्यवस्थित हुनुपर्छ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version