काठमाडौं: मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो।

 

मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो। भट्ट, दास र उपाध्यायको कोस्टारिका भ्रमण कार्यक्रम मन्त्री मगरले नै स्वीकृत गरेकी थिइन्।

 

मन्त्रीको विदेश भ्रमणसम्बन्धी निर्देशिका अनुसार मन्त्री र सचिवको विदेश भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने व्यवस्था छ तर सहसचिव र त्यसभन्दा मुनिका कर्मचारीको विदेश भ्रमणलाई सम्बन्धित मन्त्रीले स्वीकृति दिनुपर्छ।

 

खानेपानी मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले मन्त्रीको कोस्टारिका भ्रमण रद्द भएको स्वीकार गरे। उनले भने, ‘मन्त्रीज्यूको भ्रमण रद्द भएको छ। उहाँको भ्रमण रद्द भएपछि उहाँसँगै जाने अन्य व्यक्तिको भ्रमण पनि रद्द भयो।’ मन्त्रीको विदेश भ्रमण कार्यक्रम किन रद्द भयो भन्नेबारेमा मन्त्रालयका उच्च कर्मचारी बोल्न चाहँदैनन्। ‘भ्रमण किन रद्द भयो, मलाई थाहा छैन’, सुवेदीले भने। स्रोतका अनुसार सामान्यतया बहालवाला मन्त्रीको विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद्को बैठकले अस्वीकार गर्दैन। अनावश्यक विदेश भ्रमणबाट राज्यको करोडौंको व्ययभार बढेको समाचार आउन थालेपछि सरकारले विदेश भ्रमणमा कडाइ गर्न थालेको छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version