काठमाडौँ: नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ ।

 

सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि ९२ हजार ३७६ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि क्षेत्रतर्फ २८ हजार ८८९ जनाले आवेदन फारम भरेका इपिएस कोरिया शाखाका सुचना अधिकृत शोभाकर भण्डारीले बताए । चैत ८ गते देखि चैत १७ गते राति १२ बजेसम्म आवेदन फारम भर्ने व्यवस्था थियो । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए ।

कुल आबदेनमध्ये, महिलाको संख्या १४ हजार ९८३ रहेको उनले बताए ।

 

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् ।

 

दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने घोषणा गरेको छ ।

 

सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने ८ हजार ५११ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५९ हजार ६९८ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । हालसम्म तोकिएको ४ वर्ष १० महिना समाप्त भई २५ हजार कामदार नेपाल फिर्ता भएको भण्डारीले बताए ।

 

भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ ।

 

भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ । भने परिक्षाको नतिजा असर १३ गते सार्वजनिक हुने भण्डारीले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version