काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका पूर्वी तथा मध्य भूभागमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ।

 

दिउँसो देशको पूर्वी, मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

 

‘साँझपख काठमाडौँ उपत्यकासहित मुलुकका धेरैजसो भूभागमा आंशिक बदलि हुने सम्भावना छ,’ मौसमविद् नगरकोटीले भनिन्,’ ‘प्रिमनसुनको समय भएकाले मेघ गर्जनका साथ हावाहुरि र क्षणिक वर्षा हुनु समान्य प्रक्रिया हो।’

 

महाशाखाले आज बिहान प्रकाशित गरेको तीन दिने मौसमी बुलेटिनमा पनि देशका विभिन्न भूभागमा आंशिक देखि सामान्य बदली रहने उल्लेख छ।

 

बिहीबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदलि रहने विभागले जनाएको छ।

 

यसैबीच बारा र पर्सामा ठूलो धनजनको क्षती हुने गरी तीन दिनअघि आएको हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली आज प्रभावित क्षेत्रमा गएको छ।

 

महाशाखाकी मौसमविद् अर्चना श्रेष्ठ र सुजन सुवेदीसहितको टोली बिहान बाराको लागि प्रस्थान गरेको मौसमविद् नगरकोटीले जानकारी दिइन्।

 

टोलीले प्रभावित क्षेत्रमा गएर घटनाको सामान्य अध्ययन गर्ने छ। मौसमविद्को टोलीले पीडित र स्थानीय प्रशासनसँग पनि छलफल गर्ने कार्यक्रम छ।

 

यो अध्ययनले हावाहुरीको प्रकोपबाट हुन सक्ने क्षति कम गर्न सहयोग पुग्ने विभागले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version