काठमाडौँ: संसदमा नागरिकता संशोधन विधेयक विचाराधीन नै रहेको अवस्थामा सरकारले जन्मसिद्ध (जन्मका आधारमा) नागरिकता लिएका बाबु-आमाका सन्तानले नागरिकता पाउने बाटो खोलिदिएको छ।

 

जन्मसिद्ध नागरिकका सन्तानलाई बुबा-आमा दुवैको नागरिकताका आधारमा वंशजको नागरिकता बनाइदिन गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।

 

मन्त्रालयले सातवटै प्रदेशलाई पनि पठाएको परिपत्रमा सर्वोच्च अदालतले आमाका नाममा नागरिकता प्रदान गर्न गरेको फैसला उल्लेख गर्दै नेपाल नागरिकता ऐन २०६३, नेपाल नागरिकता नियमावली २०६३ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ बमोजिम वंशजको नागरिकता प्रदान गर्न निर्देशन दिइएकाे छ।

 

जन्मका आधारमा नागरिकता लिएकाका सन्तानले नागरिकता नपाएका कारण बेहोर्नुपरेको समस्या समाधान गर्न भन्दै गृह मन्त्रालयले मंगलबार परिपत्र जारी गरेको हो।

 

उमेर पुगिसकेका बालिग सन्तानले नागरिकता नपाएर शैक्षिक एवं वृत्ति विकास गर्न नपाई झेल्नुपरेको समस्या सम्बोधन गर्न यस्तो परिपत्र गरिएको गृहले जनाएकाे छ।

 

‘संविधानको धारा ११ को उपधारा ३ बमोजिम जन्मका आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी निवेदन दिएमा वंशजका आधारमा नागरिकता प्रदान गर्न अपनाउनुपर्ने कार्यविधि प्रक्रिया अपनाइ, के बुझ्नुपर्छ बुझी उपयुक्त देखिएमा वंशजको नागरिकता प्रदान गर्न सकिने निर्णय भएको छ,’ परिपत्रमा भनिएको छ।

 

२०६३ मा अन्तरिम संविधान लागू भएपछि २०४६ चैत मसान्तसम्म नेपालमा १५ वर्ष पुगेको र त्यसपछि पनि निरन्तर यहीँ बसेकालाई राज्यले जन्मसिद्ध नागरिकता दिएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version