काठमाडौँ: सरकारले विदेशबाट फर्र्किएका युवालाई १० लाख रुपियाँ सम्म बिना धितो ऋण प्रवाह गर्ने भएको छ ।
विदेशबाट फर्किएका युुवालाई स्वरोजगार बनाउनका लागि बिना धितो पाँच प्रतिशत ब्याजमा सो ऋण दिने अर्थमन्त्री डा खतिवडाले बताए ।
यसअघि सरकारले युवा तथा स्वरोजगार कोषमार्फत व्यवसाय गर्नका लागि युवालाई बिना धितो रु दुई लाखसम्म ऋण दिने गरेको थियो ।
सरकारले ती युवाको सीप प्रमाणीकरण गरी व्यवसाय सञ्चालन गर्नका लागि उक्त रकम दिन थालेको बजेटमा उल्लेख गरिएको छ ।
सरकारले त्यसरी प्रवाह गरिने कर्जाको अनिवार्य सुरक्षण गराई व्यवसायको बीमासमेत गराउने छ । उक्त रकम युवालाई लघु तथा साना, पर्यटन, कृषि व्यवसाय र रोजगारमूलक सेवामा लगानी गर्ने जनाएको छ ।
यसैगरी विदेशबाट युवाले विप्रेषण आय बंैकिङ प्रणालीबाट भित्र्याएमा त्यस्तो रकमबाट व्यवसाय गर्न पनि सरकारले प्रोत्साहन गर्ने अर्थमन्त्री डा खतिवडाले बताए ।
सरकारले दलित समुदायलाई आधुनिक व्यवसाय गर्नका लागि सहकारी तथा सामुदायिक उत्पादन प्रणालीमार्फत सामूहिक जमानीमा प्रतिसमूह १० लाख रुपियाँ सम्म पाँच प्रतिशतमा व्याजमा ऋण दिइने भएको छ ।
अर्थमन्त्री डा खतिवडाले उनीहरुको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवद्र्धन गर्नका लागि उक्त बजेट छुट्याइएको बताए ।
