काठमाडौँ: नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठनको गृहकार्य गरेको छ।

 

आज दिउँसो पार्टी कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्नेबारे छलफल हुने नेताहरूले जनाएका छन्।

 

केन्द्रीय समितिपछिको शक्तिशाली विभागको रूपमा केन्द्रिय कार्यसम्पादन समितिलाई लिइन्छ। केन्द्रीय समिति बैठक बस्न नसकेका बेला समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउनेजस्ता काम गर्ने केन्द्रीय कार्यसम्पादन समितिले चुनावका बेला नेतालाई टिकट दिने निर्णय पनि गरेको थियो।

 

२९ सदस्यीय बन्ने केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी सभापति शेरबहादुर देउवासहित पार्टीका केन्द्रीय पदाधिकारी रहन्छन् भने अरू केन्द्रीय समिति सदस्यहरू समितिमा हुन्छन्। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफलपछि समिति गठनको गृहकार्य गरेका हुन्।

 

समितिमा वरिष्ठ नेता पौडेल, उपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत रहने चर्चा भए पनि को-को रहन्छन् भन्ने टुंगिएको छैन।

 

कांग्रेसभित्र महत्वपूर्ण २८ विभागमध्ये यो एक हो। कांग्रेसले संघीय विधान बनाएपछि केन्द्रीय अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति गठन र नीति निर्माण तथा निर्देशन समिति गठन गरिसकेको छ।

 

१३ औं महाधिवेशन भएपछि पनि देउवाले केन्द्रीय कार्यसम्पादन समिति बनाएका थिए। देउवा पक्षले एकलौटी ढंगले समिति बनाएको भन्दै त्यसबेला विरोध भएपछि खारेज गरिएको थियो।

 

कांग्रेस स्रोतका अनुसार समितिमा देउवा र पौडेल पक्षले सदस्य संख्या भागबण्डा गरिसकेका छन्। पौडेल पक्षले ८ जना सदस्य पाउने सहमति भएको एक नेताले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version