काठमाडौँ: हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको पञ्चांग निर्णायक समितिको भनाइ छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक दशैं मनाउने गर्छन् ।

असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा भने टीका लगाउने प्रचलन छैन ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको शास्त्रमा वर्णन गरिएको उल्लेख छ ।

चैते दशैंको दिन काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version