काठमाडौं: काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ। भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो।

 

काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले जनाएका छन्। जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो। अहिले दैनिक करिब पाँच सय यात्रुको चाप अन्य वायुसेवामा परेको छ।

 

काठमाडौं–दिल्ली वायुसेवा कम्पनीका निम्ति लाभदायक गन्तव्य हो। काठमाडौं–दिल्लीको दुईतर्फी उडान गर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैन। कम्तीमा एक साता अगाडिको टिकट पाउन गाह्रो पर्ने एरोलिना टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए। उनका अनुसार एक साताअगाडि ८/९ हजार रुपैयाँमा पाइने टिकट अहिले २८ हजार रुपैयाँ पनि पाउन कठिन छ।

 

खड्काका अनुसार बिहीबार मात्रै काठमाडौंबाट दिल्लीको टिकट किन्न आएका अमृत ढुंगानालाई तीन दिनपछिको इकोनोमी क्लासको टिकट लिन हम्मेहम्मे पर्‍यो। ढुंगानाले बल्लबल्ल २८ हजार रुपैयाँमा नेपाल एयरलाइन्सको काठमाडौंबाट दिल्लीको एकतर्फी टिकट पाए।

 

टिकट बिक्री गर्ने व्यवसायी आफैं दिल्लीबाट काठमाडौं फर्कने हवाई टिकट नपाएकै कारण दुई दिन लगाएर काठमाडौं आउनुपरेको छ। प्रिज्म इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी प्रबन्ध निर्देशक बिन्दु प्रधान गत चैत २९ गते दिल्लीबाट गोखरपुर हुँदै भैरहवाको बाटो भएर काठमाडौं आएकी छन्। उनले भनिन्, ‘दिल्ली–काठमाडौंको सीधा हवाई टिकट नपाएपछि दिल्लीबाट गोरखपुर जहाजमा आएँ।’ सुनौलीबाट सवारीसाधनमा भैरहवा र त्यसपछि जहाजबाट काठमाडौं आएको उनले बताइन्। उनले भनिन्, ‘दिल्लीबाट काठमाडौं आउन ३२ हजार रुपैयाँ भन्दा कमको टिकटै पाइएन।’ यो संचार अन्नपुर्ण पोस्टमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version