काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देखाउन मिल्ने गरी सरकारले एउटा पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।
सोमबारबाट सुरु भएको संघीय संसदको बर्खे अधिवेशनलाई सम्बोधन गर्दै नेता देउवाले प्रधानमन्त्रीको समृद्धि गफ र नारामै सीमित भएको आरोप लगाए ।
प्रधानमन्त्री काम गरेर देखाउने ऐतिहासिक अवसरबाट चुकेको पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको दाबी छ । ‘सरकारले १४ महिनामा जनतामा आशा जोगाउने एउटा पनि काम गरेको छैन’, देउवाले भने, ‘जताततै निराशामात्र छ । प्रधानमन्त्रीले घोषणा गरेको समृद्धि गफ र नारामै सीमित भएको छ ।’
उनले कुहिरोभित्र हराएको कागको नियतिबाट बाहिर निक्लिएर सही बाटोमा हिँड्न सरकारलाई सुझाव दिए । सरकार एकपछि अर्काे भ्रष्टाचार काण्डमा फस्दै गएको उनको आरोप छ । बालुवाटारको सरकारी जग्गा भूमाफियाले कब्जा गर्दा पनि सरकार कारबाही विपरित ढाकछोप गर्न लागेको उनको दाबी छ ।
