काठमाडौँ: सञ्चार, सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने जो कोहीलाई सरकारले छुट नदिने बताएका छन्।
मन्त्री बाँस्कोटाले सुवर्ण शमशेरको परिवारले जग्गामा दावी गरेको विषयमा समेत खण्डन गरे। ‘सबैलाई थाहा सुवर्ण शमशेर नेता हुन्। कोही नेता होला। कोही सहिदका सन्तान पनि यहाँ छन्। उनीहरुले योगदान गरेको कुरामा हामी उच्च सम्मान, प्रशंसा र स्मरण गर्छौँ’, मन्त्री बाँस्कोटाले भने, ‘यसरी नजोडौँ होला।’
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘बालुवाटार जग्गामा चारतारे, लालतारे कसैलाई सरकारले छुट दिन सक्दैन।’
उनले जो सुकै जोडिए मिचिएको जग्गा सरकारको नाममा ल्याउने सिलसिला सुरु भएको बताए। सरकारी जग्गा अतिक्रमण भएकोबारे सरकारले नै छानविन समिति बनाएको र अध्ययन भइराखेको उनले बताए। महासचिव विष्णु पौडेल जोडिएपछि सरकारमाथि नै आक्रमण भइराखेको उनको भनाइ छ।
‘अडिओ भिडिओ सुनेर लेख्नेले पनि सरकारी जग्गा लिनेलाई क्षतिपुर्ति दिनुपर्छ भन्यो : सरकारको प्रवक्ता’, भनेर लेखियो। पूर्वाग्रहको लास्ट नमुना ,’ उनले भने, ‘ मैले कहिल्यै भनेको छैन। जसले उहाँलाई ठग्यो जस्तो लाग्छ त्यसले तिर्छ भनिदिएको हो। सरकारले तिर्दैन। देउवाको हकमा पनि त्यहि हो सुवर्ण शमशेरको हकमा पनि त्यहो विष्णु पौडेलको हकमा पनि त्यहि हो। छ भने उहाँहरुको गयो । गयो त अब । सरकारले लिन्छ त्यती हो हामीले जानेको। सरकारले क्षतिपूर्ती तिर्दैन।’ उनले गिरोहलाई पनि नछाड्ने बताए।
