काठमाडौँ: समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धि विशेष अभियान २०७६ बारे छलफल कार्यक्रम नेपाल प्रहरी क्लव भृकुटीमण्डपमा शुक्रबार सम्पन्न भएको छ ।
छलफल कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले छलफलको कार्ययोजना तथा औचित्यमाथि प्रकाश पार्दै सूर्तिजन्य पदार्थको प्रयोगकर्तालाई नियन्त्रण गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यान्वयनमा लैजाने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
सम्वन्धित क्षेत्रका विशेषज्ञ र सरोकारवाला निकायसँग गरिएको छलफल फलदायी हुने उहाँले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्नुभएको सो कार्यक्रममा काठमाडौं महानगरपालिका स्वाथ्य विभागका प्रमुख नरेन्द्र बज्रचार्यले महानगरपालिकाको सूर्तिजन्य पदार्थ प्रयोगको नियन्त्रणमा गरेका प्रयास र आगामी कार्ययोजनाका बारेमा प्रकाश पार्नुभएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, विभिन्न अस्पतालका चिकित्सकहरु, विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, समुदाय-प्रहरी साझेदारीका विभिन्न समितिमा आवद्ध संस्थाका प्रतिनिधिहरु तथा नागरिक समाजका सदस्यहरु, संचारकर्मीहरुका साथै महानगरीय प्रहरी वृत्तका प्रमुखहरु समेतको सहभागिता रहेको थियो ।
