काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै यातायात व्यवस्था कार्यालय कोशीका लेखापलविरुद्व विशेष अदालतलमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले ५ करोडभन्दा बढी अकुत सम्बपत्ति कमाएको भन्दै लेखापाल सुरेश अधिकारीविरुद्व मुद्दा दायर गरेको हो ।

 

अख्तियारले एक विज्ञप्ति जारी गर्दै अधिकारीले ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ बढी अकुत सम्पत्ति कमाएको भन्दै सोमबार विशेष अदालतमा उनीविरुद्व मुदाय दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

लेखापाल अधिकारीले २०५९ असोज १६ देखि २०६० जेठ २५ गतेसम्म रोल्पाको साविक तेवाङ गाविसका सचिव रुपमा काम गरे । यस्तै २०६० जेठ २६ गतेदेखि २०६५ चैत १९ गतेसम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ मा कार्यरत थिए ।

 

टेलिकमपछि अधिकारीले २०६५ चैत ३० मा निजामती सेवाको लेखापाल पदमा नयाँ नियुक्ति भई कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर हुँदै २०६७ चैत २० गतेदेखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय कोशीमा लेखापालको पदमा कार्यरत रहेको अख्तियारको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

अधिकारीले पदीय मर्यादा विपरीत कार्य गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक उच्च जीवनशैली यापन गरेको भन्दै सोही बेला २०७४ वैशाख ६ गते निलम्बनमा परे ।

 

उनले जागिर खाएको अवधि २०५९ असोज १६ देखि २०७५ वैशाख मसान्तसम्मको अधिकारीको सम्पत्तिहरुमाथि अख्तियारले अनुसन्धान थालेको थियो । अधिकारीले सो समयमा पाउने तलवभत्ता¸ प्रोत्साहन भत्ता¸ जग्गा विक्री¸ नगद अंश भर्पाइ¸ कर्जालगायतबाट कुल ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आम्दानी हुन आउँछ ।

 

तर उनले जागिर खाएको बीचको समयमा ४ वटी श्रीमती, सासु र मामाको नाममा समेत सम्पत्ति राखेको अख्तियारको अनुसनधानमा खुल्न आएको छ । उनले आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी)¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठ, सासू पुष्पकुमारी निरौला र नाता पर्ने मामा बलराम शर्माको नाममा पनि सम्पत्ति राखेका थिए ।

 

अख्तियार प्रवक्ता कोइरालाका अनुसार अधिकारीको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ हो । तर, चलअचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दातलगायत गरी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ आम्दानी गरेको देखिएको छ ।

 

प्रवक्ता कोइरालाले भने, ‘अधिकारीले ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ अकुत सम्पत्ति कमाएको प्रष्टै देखिन्छ । वैध सम्पत्तिको तुलनामा अधिकारीको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएन् ।’

 

‘अधिकारीले राष्ट्रसेवक भएपछि के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसेकपछि अदालतमा मुद्दा दायर गरिएको हो,’ प्रवक्ता कोइरालाले भने, ‘उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले अधिकारीविरुद्व उपर बिगो माग गरी मुद्दा दायर गरिएको छ ।’

 

अख्तियारले लेखापाल अधिकारीसहित उनका ४ वटी श्रीमती, सासू निरौला र नाताका मामा शर्मा समेतलाई प्रतिवादी कायम गरी अदालतमा मुद्दा दायर गरेको छ ।

 

यस्तै आयोगले आजै समयमाई प्राथमिक विद्यालय (हाल माध्यमिक विद्यालय) टिकुलीगढमा कार्यरत शिक्षक रामप्रसाद पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मुद्दा दायर गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version