काठमाडौं: यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् ।

 

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेका हुन् । आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदा पनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे । उनले भने, ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ ।’

 

शल्यक्रिया गर्नुपूर्व बिरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाइएको पनि उनले सुनाए । उनले भने, ‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ । हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’

 

आफूहरुले स्वास्थ्य मन्त्रालयमा पुगेर पनि न्याय पाउँ भनि हारगुहार समेत गरेको उनले सुनाए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे ।

 

उनले भने,‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन् । हामीलाई नालामा फ्याल्ने धम्की समेत आयो ।’

 

उनले भने,‘अब हामी कहाँ जाने ? हामीलाई कहिले न्याय दिनुहुन्छ ? कार्यक्रममा बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए । उनले भने,‘मुटुको शल्यक्रिया हुँदा मृगौलाको भागमा किन चिरियो ? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version