काठमाडौँ: देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ आज (सोमबार) बाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन् । नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ ।
प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्न लागेको हो ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।
टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पु¥याउनेछ ।
सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पु¥याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो ।
सरकारको उक्त परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत करिब नौ अर्ब रुपियाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो ।
सोही योजना अनुसार प्रदेश १, २ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई चार अर्ब ८८ करोड रुपियाँमा जिम्मा दिएको थियो । यस विषयमा २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई वकर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ । बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा यूटीएल तथा कर्णाली र सुदूर पश्चिमा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन् ।
