सुर्खेत: कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
जसमध्ये चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रुपैयाँ, पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ बिनियोजन गरिएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा २५ करोड १० लाख ४१ हजार रुपैयाँ आन्तरिक राजस्वबाट पूर्ति गरिने उल्लेख छ। मन्त्री ज्वालाका अनुसार संघीय सरकारबाट राजस्व बाँडफाँड वापत ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडबाट २ करोड ७४ लाख प्राप्त भएको छ।
यस्तै वित्तीय समानीकरण अनुदान ९ अर्ब ८४ करोड ८३ लाख, सशर्त अनुदान ५ अर्ब २७ करोड २७ लाख रहेको छ। समपुरक र विशेष अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख प्राप्त हुने अनुमान गरिएको छ।
कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधारतर्फ सडकलाई विशेष जोड दिइएको छ।सडकलगायत पूर्वाधार विकासका लागि पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न उक्त कार्यक्रमका लागि १ अर्ब २० करोड विनियोजन गरिएको छ।
प्रदेश महत्वका २४ वडा सडकलाई बहुवर्षीय आयोजनाका रुपमा अगाडि बढाइएको छ। जसमा खार्पुनाथ–सुवाखोला सडक हुम्ला, दैलेख सदरमुकाम हुँदै नौमुले–जुनिचाँदे सडक जाजरकोट, भेडाबारी–आँपगैरा–खेल्नेचौर सडक सुर्खेत, सान्तडा–मेहलतोली–पातीहाल्न सडक जाजरकोट, सहिद मायाराम मार्ग दैलेखलगायत रहेका छन्।
