काठमाडौँ: राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् ।

 

प्रधानमन्त्री ओलीले भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्याललाई विधेयक परिमार्जन गर्न निर्देशन दिएका हुन् ।

 

‘प्रधानमन्त्रीले आवाश्यक परामर्शपछि गुठी विधेयक परिमार्जन गर्न निर्देशन दिइसक्नुभएको छ’ बालुवाटार निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्री आफैले ‘इनिसिएसन’ लिएर समस्या समाधान गर्नतर्फ लाग्नुभएको छ । अब यो समस्याको विषय रहँदैन ।’

 

गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।

 

यो विधेयक राष्ट्रिय सभामा दर्ता भएसँगै चौतफी विरोध र आलोचनासँगै आन्दोलन सुरु भएको थियो ।

 

काठमाडौ उपत्यका लगायत उपत्यका बाहिरका जिल्लामा समेत विरोध चर्कन थालेपछि सत्तारुढ दलका सांसदहरुले विधेयक सच्चाउनुपर्ने भन्दै सरकारलाई दबाब दिन सुरु गरेका थिए ।

 

गुठीसम्बन्धी कानुन बनाउन राष्ट्रिय सभामा दर्ता भएको यो विधेयककोे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँगै अन्य राजनीतिक दल, विभिन्न संघ संस्था र पुर्व राजा ज्ञानेन्द्र शाहले समेत चासो देखाएर विरोध गर्नुका साथै विधेयककै कारण सरकार नै ढाल्ने चेतावनीसमेत दिन दिएपछि सरकार पछि हट्न बाध्य बनेको हो ।

 

यसअघि सत्तारुढ दलकै कतिपय सांसद र नेताहरुले समेत गुठी विधेयक जस्ताको तस्तै पारित गर्न नहुने धारणा सार्वजनिक गर्दै आएका थिए । नेकपाका नेता झलनाथ खनाल, योगेश भट्टराई, जनार्दन शर्मा लगायतका नेताहरुले समेत विधेयकका कमजोरी औँल्याएर सच्याउनुपर्ने सुझाव दिएपछि ओली नेतृत्वको सरकार रक्षात्मक बन्दै विधेयक परिमार्जन गर्न तयार भएको हो ।

 

आफू देश बाहिर भएका बेला गुठी विधेयकको विरोधमा भएको आन्दोलनलाई नियालिरहेका प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्कने क्रममै त्रिभुवन विमानस्थलमा गल्ती भए सच्चाउन तयार रहेको सन्देश दिएका थिए ।

यसो भन्नु भो प्रम ओलीले

 

गुठीसम्बन्धी कतिपय ठाउँमा गुठीका नाममा जनता माथि, गरिबहरु माथि शोषण भइरहेको छ । जमिन सबै कुरा एकै ठाउँ ‘टकासार भाजि टकासार खाजा’ भन्छ हिन्दीमा । त्यो हुँदैन । बैली, बहल, धार्मिक गुठी, यहाँका यस्ता ऐतिहासिक गुठीहरु, हाम्रा संस्कृतिसँग, साँंस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका साँस्कृतिक धरोहरसँग जोडिएका गुठीहरुको कुरा बेग्लै हो । यदि यस विधयकले कही कतै त्यस प्रकारका गुठीहरुमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ ।

 

 

अब केही मानिसहरुले खुबै मौका पायौँ भन्ठानेको होला । कुनै चान्स आउने वाला छैन । चान्स छैन । किन भने यो सरकार जनताका लागि, जनताले भने अनुसार काम गर्छ, । जनताको हितमा काम गर्छ र यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरु, हाम्रा पुरातात्विक महत्वका धरोहरहरु, पुरातात्विक महत्वका धरोहर भन्दा घर मात्रै बुझिदैन । घरसँग जोडिएका हाम्रा संस्कृति बुझिन्छ ।

 

मच्छेन्द्रनाथको रथ यात्रा आफैमा एउटा धरोहर हो । इन्द्रजात्रा आफैमा एउटा धरोहर हो । कुमारी जात्रा आफैमा एउटा धरोहर हो । त्यस कारण भवन, घर, कुदिएको कला मात्रै होइन । साँस्कृतिक कला जो झन राम्ररी कुदिएको छ । त्यो पनि हो । त्यस कारण यसमा कुनै भ्रम राख्नु पर्ने आवश्यकता म देख्दिन ।

 

अब म आइसक्या छु । यो सबै कुरा हामी हेरेर कुनै पनि हाम्रो साँंस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड रीतितिथिसँग कुनै कुराले कही नेरी अलिकति पनि प्रतिकुल असर वा घच्चा जानेर वा नजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ । यो सरकार बनेको जनताको मन दुखाउन होइन । यो सरकार बनेको जनताको मन हसाँउन हो ।

 

त्यस कारण कही कतै केही नपुगेको देख्दा वा कही कतै केही भुलबस् कतै गएको देख्दा त्यो मौका आयो कि भन्ठान्नु बेकार हो । म त्यति भन्न चाहन्छु यस सन्दर्भमा ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version