काठमाडौँ: चालू आर्थिक वर्ष सकिन १० दिन मात्र बाँकी हुँदा सम्म पुँजीगत बजेट खर्चको अवस्था झनै निराशाजनक रहेको छ ।
असार २० गतेसम्म पुँजीगत खर्च जम्मा ५४ प्रतिशत रहेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार चालू आर्थिक वर्षको असार २० गते सम्म सरकारले एक खर्ब ७३ अर्ब ३१ करोड पुँजीगत खर्च गरेको छ । चालू आर्थिक वर्षको लागि पुँजीगत खर्च तर्फ ३ खर्ब १३ अर्ब बजेट बिनियोजन गरिएको थियो ।
सरकारले पुँजीगत बजेट खर्चमा सुधार गर्न समयमा बजेट ल्याए पनि अपेक्षीत रुपमा खर्च हुन नसक्दा बिकासका कामहरु अघि बढ्न सकेको छैन ।
अर्थ मन्त्रालयले समयमा बजेट निकाशा गरि सम्बन्धित मन्त्रालय तथा बिभागहरुलाई बजेट खर्चको अक्तियारी दिए पनि पुँजीगत खर्च बढ्न नसक्दा चिन्ताको बिषय बनेको छ ।
यता चालू खर्च भने ७८ दशमलब ४३ प्रतिशत भएको छ । हालसम्म चालू खर्च तर्फको बजेट बिनियोजनको ६ खर्ब ६३ अर्ब खर्च भएको छ । सरकारले चालू खर्च तर्फ ८ खर्ब ४५ अर्ब बिनियोजन गरेको थियो ।
चालू आर्थिक बर्षको असार तेश्रो हप्ता सम्ममा बार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गएको छ । चालू आर्थिक वर्षमा ८ खर्ब ३१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ६ खर्ब ५६ अर्ब राजस्व संकलन भएको छ ।
