काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ ।

 

पुष्पलाल स्मृति प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको ‘४१ औं पुष्पलाल स्मृति दिवस’मा बोल्दै उहाँले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गर्नुभयो ।

 

“एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी एकता टुङ्ग्याउँछौँ”, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य यही साउन महीनाभित्र पार्टी एकताका बाँकी रहेका काम पनि टुङ्ग्याउने छौँ, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक पनि बस्ने छौँ ।”

 

उहाँले केन्द्रीय कमिटी बैठकबाट देशव्यापीरुपमा कार्यक्रम बनाएर जनतासमक्ष समेत जाने बताउनुभयो ।
उहाँले अध्यक्ष दाहालले पुष्पलालले देखेको सपना आफूहरुले पार्टी एकता गर्दै जनवादी क्रान्ति मौलिक ढङ्गले पूरा गरेको धारणा राख्नुभयो ।

 

 

उहाँले पुष्पलाल नै विभाजित पार्टीलाई एकताबद्ध गर्नुपर्दछ भनेर विसं २०२५ मा गोरखपुर सम्मेलनमार्फत एउटा झण्डा उठाएको समेत बताउनुभयो । नेता दाहालले पुष्पलालको मानसिक सन्तति आफूहरु भएको उल्लेख गर्दै समाजवादको यात्रा पनि उहाँकै सपनानुसार पूरा गरिने दृढता व्यक्त गर्नुभयो ।

 

उहाँले पुष्पलालले देखेको समाजवाद तथा समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्नका लागि पार्टीलाई विचार र राजनीतिका आधारमा, साङ्गठनिक मूल्यमान्यताका आधारमा, विधि र प्रक्रियाको आधारमा जनतासँगको सम्बन्धको आधारमा सुदृढ गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

“हामी पहिलो पार्टी भएपछि सबै चिज ठीकठाक हुन्छ भन्ने जे विश्वास थियो त्यसमा उठेका यदाकदाका प्रश्नको जवाफ हामीले एकता प्रक्रिया टुङ्ग्याएर, पार्टीलाई सक्रिय बनाएर, जनतालाई परिचालन गरेर गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

 

उहाँले आफूभित्र देखापरेका कमजोरीलाई सच्चाएर सङ्कल्प गर्नु नै पुष्पलाललाई सम्झनुको अर्को बाटो रहेको बताउँदै भन्नुभयो, “ अबको बाटो हामीभित्र देखिएको कमीकमजोरी सच्याउने पनि हो । आफैँलाई धोइपखाली सफा गर्ने कुरा पनि हो । त्यस अर्थमा यो दिवसको औचित्य हुन्छ”, उहाँले भन्नुभयो ।

 

कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेकपालाई लोकप्रिय बनाएर स्थापित गर्न सकेमात्र पुष्पलालको सपना साकार हुने बताउनुभयो । उहाँले पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह पार्टीको मार्ग निर्देशनअनुसार चल्नुपर्ने तथा पार्टीमा राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहनसमेत गर्नुपर्ने बताउनुभयो । उहाँले छिट्टै पोलिटब्यूरो गठन तथा विभागीय र जनवर्गाीय सङ्गठनको जिम्मेवारी बाँडफाँट गरिने बताउनुभयो ।

 

भँगेरीमा सङ्ग्रहालय र उद्यान

वरिष्ठ नेता नेपालले अहिले मुलुकमा झण्डै दुई तिहाइको कम्युनिष्टको सरकार भएकाले यस अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । “अहिले सरकार सञ्चालनको अभूतपूर्व अवसर छ । यो अवसरलाई खेर जान दिनुहुँदैन”, उहाँले भन्नुभयो, “खेर जान दियो भने फेरि अवसर जनताले दिन्छ कि दिँदैनन् ।” उहाँले पुष्पलाल जन्मेको ठाउँ रामेछापको भँगेरीमा पुष्पलाल सङ्ग्रहालय र उद्यान स्थापना गरिनेसमेत जानकारी दिनुभयो ।

 

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलालले देखाएको बाटामा हिँडेमात्र मुलुक समृद्धि हुने बताउँदै समाजवादको मार्गरेखा कोरिएकाले अबको कम्युनिष्ट सरकारले मुलुकमा समाजवाद ल्याउनुपर्ने बताउनुभयो ।

 

सो अवसरमा कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यान चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र खनाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेललगायत नेताले फूलगुच्छासहित माल्यार्पण गर्नुभएको थियो ।

 

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलाल को निधन २०३५ साल साउन ७ गते आजैका दिन भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो ।

 

नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ उहाँले साथीहरुको सहयोगमा विसं २००६ वैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो । उहाँले कम्युनिष्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version