काठमाडौं ः सबैको लघुवित्तको आईपीओ आज शुक्रबार बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा अधिकांशको हात खाली भएको छ।
आईपीओमा ३ लाख १ हजार ७३८ जना सदर आवेदकमध्ये ४९ हजार ५२५ जनाले मात्रै १० कित्ताका दरले शेयर हात पारेका छन्।
लघुवित्तको आईपीओमा परेको कुल आवेदनमध्ये ४५४ जनाबाट परेको ११ हजार ९६० कित्ता शेयर खरिदको लागि परेको आवेदन रद्द भएको छ।
सबैको लघुवित्तको आइपीओमा ३ लाख ५ हजार ७७६ जना लगानीकर्ताले कुल ५७ लाख २५ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् ।
सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।
यसमध्ये ८ हजार २५० कित्ता कम्पनीका कर्मचारी र २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।
कम्पनीले आइपीओबाट जम्मा भएको रकममध्ये २ करोड ५० लाख रुपैयाँ कृषि तथा पशुपालन, १ करोड ८० लाख रुपैयाँ खुद्रा व्यापार र १ करोड रुपैयाँ घरेलु उद्योग कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ ।
आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म २ करोड ८२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ४ करोड ७२ लाख ८२ हजार र आव २०७७।७८ मा ५ करोड ४२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान रहेको छ ।
