काठमाडौं : नेपाल र भारतको सिमामा रहेको क्वारेन्टाइनका बारेमा दुई देशबीच छलफल हुने भएको छ ।
क्वारेन्टाइनमा भारताट आयात हुने तरकारी तथा फलफूल चेकजाँचका विषयमा ठोस निर्णय गर्नका लागि दुईदेशबीच छलफल हुन लागेको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्माले जानकारी दिएका छन ।
तीन दिन अघि मात्र भारतले त्यहाँबाट नेपालमा निर्यात हुने तरकारी तथा फलफूलको चेकजाँच तथा नेपालबाट जाँचका क्रममा पाइएको गुणस्तरका विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै नेपाललाई पत्र पठाएको थियो ।
पत्रका बारेमा केन्द्रले हिजो मात्र जवाफ पठाउँदै आगामी अगष्टको १२ तारिखमा छलफल गर्न प्रस्ताव गरिएको जनाएको छ ।
तर यो प्रस्तावका सम्बन्धमा भारतको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रबाट भने कुनै प्रतिक्रिया नआएको शर्माले बताए ।
केन्द्रले भारतसंगको छलफलमा भारतबाट आयात हुने सामानहरु त्यहीँबाटै चेकजाँच गरेर पठाउने तथा यहाँको द्रुत विषादी प्रयोगशाला (आरबीपिआर) लाई भारतले मान्यता दिने वा नदिने भन्ने विषयमा पनि छलफल गरिने शर्माले जानकारी दिए ।
यसअघि भारतीय दूतावासले लिखित पत्र पठाएर त्यहाँका र्दुई कम्पनीबाट सिफारीश भएका तरकारी र फलफूल नेपालमा विना चेकजाँच भित्राइनु पर्ने दबाब दिएको थियो ।
त्यस दबाब पछि भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको थियो ।
विषादी प्रकरणपछि भारतबाट तरकारी र फलफूल नेपाल भित्रिएको छैन ।
