काठमाडौं : सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला विमान दुर्घटनामा ज्यान गुमाएका ७ जनाका परिवारले क्षतिपूर्तिको माग गरेका छन ।
विमान दुर्घटनामा मृत्यु भएका सात जना एमबीबीएस विद्यार्थीहरुमा आश्रित पीडित परिवारले युएस–बंगला एयरलाइन्स लिमिटेडको सञ्चालक कम्पनीका विरुद्ध २ अर्ब १० करोड रुपैंया अर्थात १९ मिलियन ९० हजार अमेरिकी डलरभन्दा बढी क्षतिपूर्ति रकम दावी गरी मुद्दा दायर गरेका छन् ।
दुर्घटना भएको १६ महिना भइसक्दा पनि कम्पनीले अन्तराष्ट्रिय कानून बमोजिम क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरिएपछि पीडितहरुले अदालत मुद्दा दायर गरेका हुन् ।
उक्त दुर्घटनामा मृत्यु भएकी एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
वायुयान धनी र सञ्चालकको दायित्वसम्बन्धी अन्तर्राष्ट्रिय कानून बमोजिम क्षतिपूर्ति प्राप्तिका लागि नेपाल पक्ष रहेको ःMontreal Convention 1999, Warsaw Convention 1929 र Hague Protocol 1955 एवं दुष्कृति कानूनबमोजिम Wrongful Death बापत निर्धारित क्षतिपूर्ति रकम एकमुष्ठ दिलाउने भराउनेसम्बन्धी मुद्दा पीडितहरुको तर्फबाट प्रमुख कानूनी सल्लाहाकार अधिवक्ता अमृत खरेलले जानकारी दिनुभयो।
दुर्घटनाको सम्बन्धमा जाँचबुझ गर्नका लागि नेपाल सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठन गरेको दुर्घटना जाँच आयोग, २०१८ ले आइकाउ अनुसूची १३ को सिद्धान्तहरु समेतको आधारमा दुर्घटनाको कारणबारे अनुसन्धान गरी तयार पारेको अन्तिम प्रतिवेदन अनुसार पीडित यात्रुहरुको ज्यान जाने गरी भएको उक्त युएस–बंगला बीएस–२११ विमान दुर्घटना प्रतिवादी वायुयान धनीर सञ्चालक युएस–बंगला एयरलाइन्स लिमिटेड र सो कम्पनीबाट उक्त विमान हवाई उडानका लागि खटिएका कम्पनीको प्रतिनिधि र सेवकको रुपमा कार्यरत प्रमुख चालकको गम्भीर हेलचक्रयाइँ, असावधानी, गल्ती र चरम लापरवाहीका कारण भएको हो भन्ने तथ्यका आधारमा पीडितहरुले क्षतिपूर्ति रकमको विशेषज्ञ मूल्यांकन गराई दावी गरेका छन् ।
