भक्तपुर ः नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरमा ‘उज्यालो भक्तपुर अभियान’को सुरुवात भएको छ ।

सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० वटा सौर्यबत्ती एकैपटक बालेर यो अभियानको सुरुवात भएको हो । अभियानको उदघाटन सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नतेले गरे ।

उनले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक संवादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियान सम्भव भएको बताए।

उनले भने, “विगतमा धेरै वर्षदेखि लोडसेडिङलगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य यहाँका बासिन्दाका लागि अब सधैँ तिहारको दिपावलीजस्तो उज्यालो दिएको छ, प्रधानमन्त्री रोजगार कार्यक्रममा एक महीनासम्म लाग्नुभएका युवाहरुले स्वयंसेवीरूपमा बत्ती जडानकार्यमा सहयोग पु¥याएकामा धन्यवाद भन्न चाहन्छु ।”

भक्तपुरको गुण्डु ‘मर्निङवाक’ गर्नेमात्र नभई अबका दिनमा ‘इभिनिङवाक’ गर्ने ठाउँको रूपमा पनि परिचित हुने विश्वास उनको छ ।

भक्तपुरलाई हरित शहरको रूपमा विकास गर्ने उद्देश्यले कौशलटारबाट सिरुटारसम्मको सडकमा हरियाली सडक अभियान शुरु भई विरुवा रोपेको बताउँदै उनले उज्यालो अभियान र हरियाली अभियान जिल्लाभरि विस्तार गर्ने बताए ।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले चिनियाँ कम्पनी ग्यान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टिच्युटको २५ लाखको लगानीमा सडकमा सौर्यबत्ती जडान गरिएको जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version