काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को घोषणासभालाई आज बनेपामा सम्बोधन गर्दै उहाँले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताउनुभयो । “एकपछि अर्को भ्रष्टाचारी समातिएका छन्, यसबाट भ्रष्टाचार बढेको ठान्नु गलत हो, यो अख्तियारलाई सक्रिय बनाइएको प्रतिफल हो”, उहाँले भन्नुभयो । उहाँले यसअघिका सरकारका समयमा पनि अख्तियार भए पनि यत्तिको सक्रिय नभएको दाबी गर्नुभयो ।

मन्त्री बाँस्कोटाले विभिन्न निकायका कर्मचारीलाई काम छिटो र नाफामूलक बनाउने प्रवृत्तिका कारण भ्रष्टाचार हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “फाइल बुझाउन जाँदा कर्मचारीलाई बेलुका तपाईको फुर्सद के छ, भेटौँ न, भन्ने प्रवृत्तिले भ्रष्टाचारले प्रसय पाउने हो, यस्तो प्रवृत्ति छ भने आजै त्याग्नुस्, नत्र तपाई पनि फन्दामा पर्नुहोला ।” उहाँले कसैले अनुचित रकम दिए वा लिएको जानकारी भएलगत्तै सरोकारवाला निकायलाई खबर गर्न आग्रह गर्नुभयो ।

उहाँले रु एक अर्बसम्मको काम नेपाली निर्माण व्यवसायीले नै गर्नसक्ने भएकाले आफ्नो क्षमता अभिवृद्धि गरी काम गर्न सुझाव दिनुभयो । “आफू क्षमता वृद्धि गरेर आउनुस् कुनै अप्ठेरो छैन”, उहाँले भन्नुभयो, “बोलपत्र आफूलाई नपर्दा अदालत जाने काम पनि राम्रो होइन् ।” समुद्ध नेपाल बनाउने प्रमुख औजारमध्येको निर्माण क्षेत्र पनि एक भएको उहाँको धारणा थियो ।

मन्त्री बाँस्कोटाले मन्त्रालयमार्फत चारवटा प्रदेशमा अप्टिकल फाइबर बिछ्याउँदा आफूले पनि निर्माण व्यवसायीबाट केही अप्ठेरो ब्यहोर्नुपरेको बताउँदै नाफामूलक सामाजिक सेवामा सरकारलाई नै सघाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समयमै काम नसक्दा पनि ठकेदार अदालत धाउँछन्, यसले कसैलाई फाइदा पुग्दैन ।” निर्माण क्षेत्रको संशोधित पछिल्लो खरीद नियमावली अन्तिम नहुने उल्लेख गर्दै उहाँले व्यवसायीसँग छलफल गर्न सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा सांसदद्वय गङ्गाबहादुर तामाङ र नवीना लामा, प्रदेशसभा सदस्य चन्द्र लामा, चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जिल्ला अध्यक्ष रुकु चौलागाई, नेपाल निर्माण व्यवसायी सङ्गठनका केन्द्रीय अध्यक्ष यज्ञध्वज कार्की, सङ्गठनका प्रदेश इञ्चार्ज टङ्क चौलागाई, सङ्गठनका महासचिव रोशन दाहाल र निर्माण व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष उपेन्द्र घिसिङले शुभकामना दिनुभएको थियो ।

यसैगरी आजै मन्त्री बाँस्कोटाले आजै कम्प्युटर एशोशिएशन नेपाल महासङ्घद्वारा धुलिखेलमा आयोजित आर्थिक निकायमा डिजिटल आर्थिक सेवा विषयक प्रदेशस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै कर छली गर्नेले डिजिटल आर्थिक सेवा लिन नचाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ताले पनि भ्रष्टाचारलाई प्रसय दिएका छन्, भ्रष्टाचार न्यूनीकरण हुँदै जाँदा उनीहरु पनि यो सेवा लिन बाध्य हुन्छन्, त्यसतर्फ ध्यान जानु जरुरी छ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version