काठमाडौं : वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/०७६ मा ९५ करोड ८४ लाख ठगी भएको हो। अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो।

व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ। ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ। वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकारले विगतदेखि नै पहल थाले पनि सफल हुन सकेको छैन।

वैदेशिक रोजगार विभागका अनुसार गत आवमा ठगीमा परेको भन्दै दुई हजारभन्दा बढी उजुरी परेका छन्। विभाग स्रोतका अनुसार दुई हजार ७९ उजुरीमा ९६ करोड रुपैयाँ ठगीको दाबी गरिएको हो। यसमा व्यक्तिगतभन्दा म्यानपावर व्यवसायीबाट (संस्थागत उजुरी) ठगिने बढी छन्। विभागका अनुसार संस्थागत उजुरी एक हजार दुई सय ६३ छन्। व्यक्तिगततर्फ आठ सय १९ उजुरी दर्ता भएका छन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले उजुरीको संख्या संस्थागतमा धेरै देखिए पनि व्यक्तिगतमा बढी रकम ठगी भएको जानकारी दिए। ‘पछिल्लो समय अनुगमन प्रभावकारी बनाउँदै लगेका छौं’, उनले भने। म्यानपावर व्यवसायीले कामदारलाई बढी शुल्क लिने, रोजगारदाताले भने बमोजिम पारि श्रमिक नदिने, पैसा लिने तर विदेश नपठाउनेलगायत ठगी गर्दै आएका छन्।

विभागले गत आवमा ८१ म्यानपावरलाई कारबाही गरेको छ। त्यसमध्ये ४२ वटा म्यानपावर असारमा मात्रै कारबाहीमा परेका हुन्। सरकारले एजेन्ट खारेज गरे पनि भूमिगत अवस्थामा काम गर्दै आइरहेका छन्। एजेन्टकै कारण ठगी रोक्न चुनौती थपिएको हो। म्यानपावर व्यवसायीले नै कतिपय आफ्ना कर्मचारीलाई एजेन्टका रूपमा काममा लगाएका छन्।

विभागका अनुसार संस्थागत उजुरीमध्ये चार सय २९ को फरफारक भएको छ। विभागले ठगीका मुद्दामा म्यानपावर र कामदार सहमतिमा आए उजुरी फरफारक गर्दछ। तर, व्यक्तिगत उजुरी अनुसन्धानका लागि वैदेशिक रोजगार न्यायाधिकरणमा पठाइन्छ। विभागका अनुसार व्यक्तिगत ठगीमध्ये दुई सय १९ उजुरी अदालतमा मुद्दा दायर भएको छ। ५६ करोड २१ लाखको व्यक्तिगत उजुरीको बिगो दाबीमध्ये २४ करोड ५० लाख अदालतमा दाबी गरिएको हो। यो खबर अन्नपुर्ण पोस्टमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version