काठमाडौँ ः नेपाल र यसका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ ।

केही दिनअघि प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले गरेको टिप्पणीप्रति असहमति जनाउँदै सरकारले त्यस्तो आग्रह गरेको हो ।

“नेपालले कहिल्यै कल्पना नगरेको विषयमा गरिएको टिप्पणी सरकारलाई अस्वीकार्य छ”, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज परराष्ट्र मन्त्रालयमा संवाददातामाझ भन्नुभयो । समितिमा बोलिएको भनिएको विषयको सत्यताप्रति आफूलाई सन्देह रहेको पनि उहाँले बताउनुभयो ।

समितिको बैठकमा नेपाली काङ्ग्रेसका सांसद प्रदीप गिरीले नेपाललाई पनि सिक्किम बनाउने अवसरको खोजीमा भारत रहेको भनेर दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासा साम्य पार्दै मन्त्री ज्ञवालीले त्यो स्तरको संसद् सदस्यबाट त्यति हलुका टिप्पणी भयो होला भन्ने आफूलाई नलागेको बताउनुभयो ।

यसैबीच कश्मिरमा विकसित पछिल्लो घटनाक्रमलाई नजीकबाट नियालिरहेको बताउँदै उहाँले छिमेकमा सधैँ शान्ति र स्थायित्व होस् भन्ने नेपालले चाहेको स्पष्ट गर्नुभयो ।

“नेपाल क्षेत्रीय शान्तिका पक्षमा छ, सबै समस्याको शान्तिपूर्ण समाधान वार्ता र संवादका माध्यमबाट खोजिनुपर्छ”, उहाँले भन्नुभयो । कश्मिरमा रहेका नेपालीको सुरक्षाप्रति सरकार संवेदनशील रहेको र नयाँदिल्लीस्थित दूतावासले भारतका अधिकारीसँग निरन्तर समन्वय र सम्पर्कमा रहेर काम गरिरहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को अध्यक्षका नाताले यसलाई गति दिन संयुक्त राष्ट्र सङ्घको ७४औँ महासभाका क्रममा सदस्य देशका विदेशमन्त्रीसँग आगामी महिना न्यूयोर्कमा अनौपचारिक छलफल हुने जानकारी मन्त्री ज्ञवालीले दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version