काठमाडौँ : भदौ लागेसँगै स्थिर भएको सुनको मूल्य आज वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३०० र चाँदीमा प्रतितोला रु ५ ले वृद्धि भएको छ ।
छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ३०० ले वृद्धि भएको छ ।
स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार पुगेको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा कारोवार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य रु पाँचले वृद्धि भएर प्रतितोला रु ८३० पुगेको महासङ्घले जनाएको छ ।
हिजो मङ्गलबार चाँदी प्रतितोला रु ८२५ मा खरीदबिक्री भएको थियो ।
गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो ।
साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोबार भएको थियो ।
साउनको अन्तिममा छापावाला सुन प्रतितोला रु ७१ हजार ५००, तेजाबी सुन रु ७१ हजार २०० तथा चाँदी प्रतितोला रु ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५०० अमेरिकी डलर पुगेको छ ।
चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।
सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ ।
अघिल्ला वर्षका तीज वरपर दैनिक ४५ किलो सम्म सुन खपत हुने नेपाली बजारमा यस वर्ष भने मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।
अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।
