काठमाडौं: कृषि प्रधान देशको रुपमा चिनिएको नेपालको अझै पनि कृषि तथा पशुजन्य वस्तुमा परनिर्भरता बढ्दैछ ।
गत आर्थिक वर्षमात्रै नेपालले २ खर्ब २४ अर्ब बराबरको कृषि तथा पशुजन्य वस्तु आयात गरेको छ । कुल १४ खर्ब १८ अर्ब आयात गरेकोमा कृषिजन्य बस्तुको आयात मात्रै झन्डै १६ प्रतिशत रहेको छ ।
यति ठुलो मात्रामा कृषि तथा पशुजन्य बस्तु आयात गर्नु कृषि प्रधान देश नेपालको लागि चुनौती रहेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अधिकृत कृष्ण राज बजगाईंले बताए ।
उनका अनुसार गत आर्थिक वर्ष २ खर्ब २४ अर्बको कृषि तथा पशुजन्य बस्तु आयात गर्दा नेपालबाट जम्मा ३६ अर्बको कृषि जन्य बस्तु निर्यात भएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा २ खर्ब ३ अर्बको, २०७३/७४मा १ खर्ब ७५ अर्बको र २०७२/७३मा अ खर्ब ५३ अर्बको कृषि तथा पशुजन्य बस्तु आयात भएको थियो ।
खेतियोग्य जमिनको खण्डिकरण हुँदै जानु, कृषिमा नयाँ प्रबिधिको प्रयोग हुन नसक्नु, युवाको आकर्षण नहुनु नै कृषिको उत्पादन नबढ्नु हो जसले गर्दा कृषि जन्य बस्तुको आयात बढ्दै गएको बजगाईंको भनाइ छ ।
नेपालमा कुल जनसंख्याको ६५ प्रतिशत जनता कृषि पेसामा छन्। कुल खेतीयोग्य भूमि करिब ३१ लाख ९५ हजार एक सय ७३ हेक्टर छ। तर कृषिमा यही मुलुकको परनिर्भरता चुलिएको छ।
८० को दशकमा नेपाल धानचामल निर्यात गर्ने मुलुकमा पर्थो तर आज आइपुग्दा मासिक २ अर्ब ५० करोडको चामल आयात गर्ने मुलुक बनेको छ ।गत आर्थिक वर्ष सबैभन्दा धेरै ३२ अर्ब ५० करोड ५० लाख मूल्यबराबरको चामल आयात भएको छ ।
स्वदेशमा ५६ लाख १० हजार टन धान उत्पादन भएपनि भात खाने बानी र मसिनो चामल खाने कारणले गर्दा चामलको आयात बढ्दै गएको कृषि सचिव डा. युवकध्वज जि.सीको भनाई छ ।
मकै र मकैजन्य १३ अर्ब ३६ करोड ६१ लाख, गहुँ तथा गहुँजन्य ६ अर्ब २४ करोड ६८ लाख, मासुजन्य जिउँदो जनावर र पन्छी चार अर्ब एक करोड रुपैयाँको आयात भएको छ। यस्तै विभिन्न प्रकारका मासु १५ करोड ९९ लाख र माछा तथा माछाजन्य एक अर्ब ८९ करोड ४० लाखको आयात भएको तथ्यांकले देखाउछ ।
कृषि योग्य जमिनको प्रभाकारी उपयोग नहुनु, सिचाईको राम्रो प्रबन्ध नहुनु तथा रासानिक मल तथा बिऊ बिजन सहज र आवश्यक रुपमा उपलब्ध नहुँदा उत्पादन बढ्न नसकेको उनको भनाइ छ ।
देशको जनसंख्या ज्यामितीय रुपमा बढ्ने तर अंक गणितीय रुपमा उत्पादन बढ्ने हुँदा माग अनुसार उत्पादन हुन नसक्दा आयात प्रत्येक वर्ष बढ्दै गएको जीसीले बताए ।
‘जमिन खण्डीकरण छ, त्यसमा यन्त्रिकीकरणको सहयोगमा उत्पादन गर्न सकिन्न,’ उनले भने, ‘कृषिबाट विमुख भएर २५ लाख युवा बिदेसिए। यसले गर्दा श्रमशक्ति र सिँचाइको चर्को अभाव छ।’
कृषिमा आधुनिकीकरण गरि हाल कृषिमा आधारित रहेको जनसंख्या घटाउनु पर्ने जरुरी रहेको उनको तर्क छ ।
अन्य क्षेत्रमा अवसर नहुँदा ठुलो मात्रामा कृषिमा लागेको बताउदै अन्य क्षेत्रमा अवसर सिर्जना गर्नुपर्ने उनले बताए ।
तथ्यांकअनुसार डेरीजन्य एक अर्ब ६० करोड ८१ लाख, अण्डा १६ करोड, मह १३ करोड १३ लाख, हरियो तरकारी ७७ करोड, आलु १५ अर्ब , प्याज पाँच अर्ब ५० करोड मूल्यबराबरको आयात भएको छ।
त्यस्तै फलफूल १७ अर्ब ३९ करोड ५३ लाख, कफी नौ करोड ८० लाख, चिया ११ करोड ७७ लाख, विभिन्न प्रकारका बीउ १४ अर्ब ८९ करोड, जैविक र वनस्पति तेलघिउ ३६ अर्ब ११ करोड र कागती ७२ करोड ५२ लाख मूल्यको आयात भयो।
उत्पादन (जीडीपी) मा कृषिको योगदान २७ दशमलब ५ प्रतिशत रहेको छ ।
