काठमाडौं : नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्ग (एक्सप्रेस वे) निर्माण तोकिएको समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ। ६ महिनादेखि रोकिएको द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पारित भएलगत्तै जंगी अड्डाको आन्तरिक ब्रिफिङमा प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्काल काम अघि बढाउन निर्देशन दिएका हुन्।

आयोजना २०७८ वैशाखमा सम्पन्न गर्नुपर्ने भनिए पनि चालु वर्षको नीति तथा कार्यक्रममा एक वर्ष थपिएको छ।

आयोजनाको डीपीआर भदौ १ मा स्वीकृत भएको थियो। ६ महिनादेखि अड्किएको डीपीआर अघि नबढ्दा काममा ढिलाइ हुने भन्दै सेना रक्षा मन्त्रालयमा धाइरहेको थियो। ‘सेनाको प्रतिष्ठासँग जोडिएको छ। समयमा काम सम्पन्न गर्नुपर्छ,’ ब्रिफिङमा प्रधानसेनापतिको निर्देशन उद्धृत गर्दै एक सैन्य अधिकारीले भने, ‘डीपीआर आइसकेको छ। अब समस्या छैन। काम छिटो सक्नुपर्छ।’ रक्षा मन्त्रालयका अधिकारीले द्रुतमार्ग निर्माणमा कुनै समस्या नरहेको प्रस्ट पारेको छ।

प्रधानसेनापति थापाले डीपीआरअनुसार काम थाल्न निर्देशन दिएका छन्। गत मंसिरमा राज्यव्यवस्था समितिका सदस्यहरूले द्रुतमार्ग निर्माण कार्य डीपीआर विना अघि बढाउन नहुने बताएपछि अवरुद्ध भएको थियो। द्रुतमार्गको जिरो किलो फर्सिडोलमा कायम गर्ने कि खोकनामा भन्नेमा विवाद चुलिएको थियो। अब खोकनामै जिरो किलो राखिने भएको छ।

सन् २०१५ मा भारतीय कम्पनी आईएलएफएसले डीपीआरको अस्वाभाविक मूल्य राखेपछि सेनाले डीपीआर बिनै काम गर्दै आएको थियो। ट्र्याक क्लियर गर्ने, रूख काट्ने, माटो सम्याउने, मुआब्जा वितरण गर्ने र नक्सांकन विवाद सक्ने काम भइसकेको छ।

सेनाले २०७४ वैशाखमा चार वर्षको समयावधिसहित जिम्मेवारी पाएको थियो। सेनाले आगामी डेढ वर्षमा काम सम्पन्न गर्नुपर्ने थियो। डीपीआर तयारीमा भएको ढिलाइका कारण आयोजनाको म्याद थपिएको हो। यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version